सुदूरपश्चिम डुबानमा (फोटो फिचर)
स्वरुप चौधरी, कैलाली- गएरातिदेखिको अविरल वर्षाले सुदूर पश्चिमको जनजीवन प्रभावित बनेको छ। निरन्तरको झरीले कैलालीको अत्तरिया, धनगढीलगायत क्षेत्रहरु डुबानमा परेका छन्। वर्षातले गर्दा नदी छेउछाउको बस्ती उच्च जोखिममा परेको छ। वर्षापछि मोहना नदीमा आएको बाढीले कैलालीको मालाखेती-२ मुक्तिनगरका करिब डेढ सय घरहरु डुबानमा परेको बताइएको छ। यता कैलालीको रामशिखरझालाका अधिकांश ठाउँ पहलमापुर र दरख गाविस-७ सरैया डुबानमा परेका छन्।
धनगढीका विशालनगर, हसनपुर, शिवनगर, सन्तोशिटोल, क्याम्पस रोड, धनगढी गाउ, तारानगर, धनगढी बसपार्क क्षेत्र पनि डुबानमा परेका छन्। कञ्चनपुरका अधिकांश क्षेत्र पनि जलमग्न बनेका छन। झरीका कारण महाकाली नदीमा पानीको बहाब १ लाख ३ हजार क्युसेक पुगेको छ। नदीमा पानीको बहाब बढेपछि भिमदत्त नगरपालिकाको भुजेलालगायत नदी छेउछाउको बस्ती पनि जोखिममा परेको छ। त्यसैगरी सुदुरपश्चिमका पहाडी जिल्लाको जनजीवन पनि निरन्तर वर्षाकै कारण प्रभावित बनेको छ।
तस्बिरहरु : चक्र दहित (माथि), स्वरुप चौधरी।
Facebook Comment