प्रेम थारुविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, चोरेरै बनाए साढे ३ तले पक्की घर, चढ्छन् १ करोडको गाडी
चोरीलाई नै पेसा बनाएका व्यक्तिहरूले पटकपटक चोर्ने, चोरेरै जीविका चलाउने र चोरीको पैसा मोजमस्तीमा उडाउने गरेको देखिन्छ । तर प्रहरीले गोली हानेर समाएका एक चोरको कथा भने फरक छ ।
ती चोर जीविका चलाउन चोरी गर्दैनन् । चोरीको पैसा मोजमस्तीमा पनि उडाउँदैनन् । उनले चोरेरै पक्की घर ठड्याएका छन् । एक करोड मूल्यको टोयटा हाइलक्स गाडी चढ्छन् । बिलासी जीवन बिताउँछन् । खातामा टन्नै रकम छ । गरगहना प्रशस्त छ । दर्जन बढी देशका मुद्रा घरमा सजाएका छन् ।
यसरी चोरेरै सम्पन्न हुने व्यक्ति हुन् प्रेम थारु । पुलिसले गोली हानेर समात्दा उनीबाट ६५ तोला त सुन नै बरामद भएको थियो । कालो वर्ण र ख्याउटे शरीर भएका थारु चोरीमा खप्पिस छन् । उनले टार्गेट बनाएपछि फरकै नखाने जानकार प्रहरी अधिकारीहरू बताउँछन् । उनको सम्पत्ति देखेर प्रहरी अधिकारीहरू नै चकित परेका छन् ।
विभिन्न उपनामले चिनिने थारु चोरीका उस्ताद हुन् । दिउँसो रेकी गर्ने, मान्छेको लवाइ–खवाइबाटै सम्पत्तिको आकलन गर्ने अनि मौका मिल्नासाथ सामान गायब पार्ने उनको शैली देखिन्छ । कतिसम्म भने, लुगा सुकाउन छतमा गएको मौकामै उनले ६५ तोला सुन गायब बनाएका थिए ।
चोरीमा समातिएका उनै थारुविरुद्ध अहिले जिल्ला अदालत काठमाडौंमा सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा दायर भएको छ । चोरी कसुरमा समातिएपछि अनुसन्धान गर्दा अकुत सम्पत्ति देखिएपछि सम्पत्ति शुद्धीकरणको कसुरमा पनि अनुसन्धान गरेर मुद्दा चलाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले बताए ।
प्रहरीले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा काठमाडौं जिल्ला अदालतमा थारुविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ । चोरीबाटै थारुले ६ करोड २२ लाख १६ हजार २१६ रूपैयाँ बराबरको सम्पत्ति आर्जन गरको भन्दै सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको हो ।
अनुसन्धानका क्रममा थारुले चोरी गरेको पैसाले ९८ लाखमा टोयटाको हाइलक्स गाडी किनेर चढेको पाइएको एसएसपी थापा बताउँछन् । प्रदेश ०३–०२३ च ४२२८ नम्बरको गाडी उनको रहेको भेटिएको छ । यद्यपि, थारुले उक्त गाडी ५५ लाखमा १८ पुस २०८२ मा बुटवल बस्ने देवीलाल वलीलाई बेचेको दाबी गरेका थिए । अनुसन्धानका क्रममा उक्त गाडी थारुकै नाममा भेटिएको छ ।
यो गाडी चोरी गरेकै पैसाले किनेको उनले स्वीकार गरेका छन् । ‘सुनचाँदीका गरगहना बिक्री गरी प्राप्त रकममध्ये ९८ लाखमा गाडी खरिद गरेको हुँ । उक्त गाडी बेचेकाले अहिले देखाउन सक्दिनँ,’ बयानमा थारुले भनेका छन् ।
चोरीलाई नै पेसा बनाएका थारुले अहिलेसम्म कति स्थानमा चोरी गरें भन्ने आफूलाई यकिन नभएको बताएका छन् । चोरी गरेका सामानहरू प्राय: भारतीय बजारमा लगेर बेच्ने गरेको उनको भनाइ छ ।
चोरी गरेकै रकमबाट आफूले जग्गाजमिन र घर जोडेको स्वीकार गरेका छन् । ‘चोरी गरेको सुनचाँदीका गरगहना बिक्री गरी करिब ५/७ वर्ष पहिले कोहलपुरमा ४० लाखमा २ कट्ठा जग्गा किनें । र, साढे तीन तले पक्की घर बनाएको छु,’ थारुले बयानमा भनेका छन् ।
उनको नाममा बाँकेको बैजापुर–५ क कित्ता नम्बर ६८८ मा १० कट्ठा जग्गा छ । उक्त जग्गा भने आफ्नो पुर्खौली रहेको थारुले बताएका छन् ।
बाँकेकै बैजापुर ५ क धनहर खेत कित्ता नम्बर १२९७ को १ कट्ठा १७ धुर, सोही ठाउँमा ५कट्टा १२ धुर जग्गाको स्रोत उनले देखाउन सकेका छैनन् । उक्त जग्गाको स्रोत पनि चोरीकै रहेको बताइएको छ ।
चोरीबाटै करोडका गाडीदेखि घरजग्गा जोडेका थारुको बैंक खातामा करिब १८ लाख बढी नगद पनि भेटिएको छ । उनको एभरेस्ट बैंकको खातामा १६ लाख २४ हजार १९६ रुपैयाँ, साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको खातामा १२ हजार ७१३ रूपैयाँ र नबिल बैंकमा २ लाख ३४ हजार ६१ रुपैयाँ भेटिएको छ ।
यो सबै रकम जफत हुनुपर्ने मागदाबी गरिएको छ । त्यस्तै, उनको हाइलक्स गाडी, बाँकेको चटारको जग्गा, बैजापुरका २ ठाउँका जग्गा पनि जफतका लागि मागदाबी गरिएको छ ।
बाँकेको राप्ती सोनारी गाउँपालिका–३ बेलासपुर ठेगाना भएका थारु चोरीको दुनियाँमा विभिन्न उपनामले चिनिन्छन् । सुप्रिम, विकास, सौरभ नामबाट उनी चोरी क्षेत्रमा प्रख्यात छन् ।
भेष बदल्दै चोरी गर्ने उनै थारुलाई काठमाडौं प्रहरीले नागार्जुन नगरपालिका–६ पुरीगाउँ क्षेत्रमा २१ माघ २०८२ मा गोली हानेर समातेको थियो ।
कतिसम्म भने, चोरी गर्दा फेला परेका नागरिकतामा समेत उनले फोटो उप्काएर आफ्नो फोटो टाँस्ने गरेको भेटिएको छ । यसको उद्देश्य आफ्नो वास्तविक परिचय नखुलोस् भन्ने रहेको उनले बताएका छन् ।
काठमाडौंमा कोठा भाडामा बस्दा उनले पर्साबाट जारी भएको दीपक श्रेष्ठ नामको सक्कली नागरिकता र भोजपुरबाट जारी भएको निर्मल प्रधानको नागरिकता देखाउने गरेकोसमेत पाइएको छ ।
थारुले बौद्धको एक घरबाट एकै पटकमा ६५ तोला सुन चोरी गरेका थिए । यो घटना गत माघको हो । गोली हानेर समात्दा प्रहरीले उनीबाट ७६४.३५ ग्राम सुन तथा १ किलो १५२ ग्राम चाँदी बरामद गरेको थियो ।
यस्तै, नगद १ लाख ६३ हजार ६५५, हिरा १५.५५ ग्राम, अमेरिकन डलर १ हजार १०४, भारु ५ हजार ५००, चिनियाँ युआन ८२, श्रीलंकन २०, मेलेसियन रिंगेट ३ लगायत अन्य मुलुकका मुद्रा पनि बरामद गरिएको थियो ।
बौद्धको चोरीमा पीडित महिलाले ३ करोड ६ लाख १४ हजार २०० रुपैयाँ बराबरको गरगहना, नगद चोरी भएको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन् ।
काठमाडौं महानगरपालिका–६ बौद्ध टुसालस्थित रिन्जी लामाको घरबाट करिब १ करोड ४ लाख ५३ हजार रुपैयाँ बराबरको सुन तथा चाँदीका विभिन्न गहना चोरी भएको थियो ।
दिउँसो कपडा धोएर छतमा सुकाउन गएको मौकामा ती गरगहना चोरी भएका थिए ।
पटके अभियुक्त, असल चालचलन भन्दै पेरोलमा छुटेका
चोरीमा समातिएर सम्पत्ति शुद्धीकरणको कसुरमा समेत मुद्दा चलाइएका थारु पटके अभियुक्त हुन् । यसअघि प्रहरी वृत्त बौद्धबाट मात्रै उनीविरुद्ध २ पटक मुद्दा चलेको थियो ।
प्रहरीका अनुसार २९ मंसिर २०७९ मा मुद्दा चली ३ वर्ष कैद भुक्तान गरेका व्यक्ति हुन् उनी । उनलाई ६० हजार जरिबाना पनि तोकिएको थियो ।
उनीविरुद्ध अहिले पनि परिसर ललितपुर, वृत्त सातदोबाटो, मकवानपुरमा जाहेरी परेको छ । काठमाडौं प्रहरीको काम सकिएपछि पठाइदिन भन्दै यी कार्यालयले पत्राचारसमेत गरेका छन् ।
७/८ वर्ष पहिलादेखि नै चोरीलाई पेसा बनाएका पटके अभियुक्त थारु असल चालचलन भन्दै ‘पेरोल’मा छुटेको खुलेको छ । पेरोल भन्नाले ‘राम्रो चालचलन’ भएको भन्दै कारागार बाहिरै बसेर कैद भुक्तान गर्न मिल्ने सुविधासहित सरकारले दिएको छुट हो ।
यही सुविधाअनुसार उनी २५ जेठ २०८२ मा कारागारबाट छुटेका थिए । नत्र उनी २०८२ मंसिरसम्म कारागारमा बस्नुपर्ने हुन्थ्यो । पेरोलमा छुटेका उनै थारुले अपराधको शृंखला नै चलाए ।
नारायण अधिकारी/अनलाइनखबरबाट
Facebook Comment