विपक्षी प्रभावशाली बनेपछि रास्वपाले सुरेन्द्र चौधरीलाई पठायो राज्य व्यवस्था समितिमा

विपक्षी दलका सांसदहरू राज्य व्यवस्था तथा सुशासन समितिमा सत्तापक्षमाथि प्रभावशाली रूपमा प्रस्तुत भइरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद सुरेन्द्र चौधरीलाई उक्त समितिमा पठाएको छ।

प्रतिनिधिसभाको बैठकमा सभामुखले बिहीबार चौधरीलाई राज्य व्यवस्था तथा सुशासन समितिको सदस्यका रूपमा मनोनयन गरिएको जानकारी गराएका हुन्। यससँगै चौधरीले अब राज्य व्यवस्था तथा सुशासन समिति र अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा रहेर जिम्मेवारी निर्वाह गर्नेछन्।

यसअघि चौधरीलाई अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति तथा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिमा राखिएको थियो। पछिल्लो निर्णयसँगै उनलाई राज्य व्यवस्था तथा सुशासन समितिमा जिम्मेवारी दिइएको हो।

राज्य व्यवस्था तथा सुशासन समितिलाई प्रतिनिधिसभाका सबैभन्दा प्रभावशाली समितिमध्ये एक मानिन्छ। समितिमा प्रमुख राजनीतिक दलका वरिष्ठ नेता तथा अनुभवी सांसदहरूको उपस्थिति छ। पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित विभिन्न दलका प्रभावशाली सांसदहरू सदस्य रहेकाले पछिल्लो समय समितिका छलफलहरू राजनीतिक रूपमा समेत महत्त्वपूर्ण बन्दै आएका छन्।

रास्वपाले पनि आफ्नो तर्फबाट प्रभावकारी उपस्थिति सुनिश्चित गर्ने उद्देश्यले चौधरीलाई राज्य व्यवस्था तथा सुशासन समितिमा पठाएको विश्लेषण गरिएको छ। विपक्षी र सत्तापक्षबीच समितिमा बढ्दो बहस र शक्ति सन्तुलनको अवस्थालाई मध्यनजर गर्दै रास्वपाले अनुभवी सांसद चौधरीलाई जिम्मेवारी दिएको बुझिएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *