किसानका समस्या समाधान गर्न सरकार गम्भीर हुनुपर्छ : सभापति चौधरी
प्रतिनिधि सभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरीले किसानको समस्या समाधान गनै सरकार गम्भीर हुनुपर्ने बताउनुभएको छ ।
२३ औँ राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव मूल समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । किसानलाई गुणस्तरीय बिउ, मल, सिँचाइ, कृषि बिमा, राहत तथा उत्पादनको उचित मूल्य सुनिश्चित गर्न सरकारको ध्यान केन्द्रित हुनुपर्ने बताउनुभयो ।
नेपालमा वार्षिक ७० लाख मेट्रिक टन धान आवश्यक रहेपनि करिब ६० लाख मेट्रिक टन धान उत्पादन हुने गरेको उल्लेख गर्दै किसानका समस्या समाधान गर्न सकेमा उत्पादन वृद्धि हुने बताउनुभयो । उहाँले किसानले आफ्नो उत्पादनको उचित मूल्य नपाएको बताउनुभयो ।
सरकारले धानको समर्थन मूल्य प्रतिक्विन्टल दुई हजार ८६५ रुपियाँ तोके पनि किसानले सो मूल्य नपाएको उहाँको भनाइ छ । उहाँले निजी क्षेत्र, मिल उद्योग तथा औद्योगिक क्षेत्रलाई किसानको उत्पादन समर्थन मूल्यमा खरिद गर्ने व्यवस्था गर्न सरकारसँग आग्रह गर्नुभयो ।
समर्थन मूल्य व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्ने उहाँको भनाइ छ । सभापति चौधरीले कृषि आधुनिकीकरण, कृषि बिमा, राहत तथा प्रविधिमैत्री कृषि प्रणाली विस्तारलाई प्राथमिकतामा राख्नुपर्ने उहाँले बताउनुभयो ।
उहाँले कृषक उत्पादन गर्ने उत्पादक मात्र नभई देशको मेरुदण्ड रहेको बताउनुभयो ।
Facebook Comment