धनगढीमा हत्या गरिएका तनुज चौधरीको सुनको मुन्द्रा खेमराज कठायतको घरमा फेला
धनगढीमा १० वर्षीया बालक तनुज चौधरीको हत्या गरेर लुटिएको सुनको मुन्द्रा प्रहरीले बरामद गरेको छ। गत असार १२ गते धनगढी-१७ को कालिका सामुदायिक वनमा मृत फेला परेका तनुजले कानमा लागएको सुनको मुन्द्रा सोमवार पक्राउ परेका अभियुक्त खेमराज कठायतबाट बरामद भएको हो।
प्रहरीका अनुसार तनुजको हत्यामा संलग्न भनिएका गौरीगङ्गा नगरपालिका-६ का २५ वर्षीय कठायत लागुऔषध दुर्व्यसनी रहेको र पैसाका लागि उनैले बालकको हत्या गरी कानमा लगाएको एक आना बराबरको सुनको मुन्द्रा लुटेका हुन्।
खेमराजले प्रारम्भिक बयानमा आफूले सुनको मुन्द्रा लुटेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरीका अनुसार तनुजको हत्यापछि खेमराजले सुनको मुन्द्री निकालेर पेन्टको खल्तीमा लुकाएका थिए। मङ्गलवार कठायतकै घरबाट उक्त सुनको मुन्द्रा बरामद भएको कैलाली प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले बताए।
तनुज १० असारमा घरबाट बेपत्ता भएका थिए। खोजतलासकै क्रममा घर नजिकैको सामुदायिक वनमा उनको शव फेला परेको थियो। खेमराजलाई कैलाली प्रहरीले सोमवार साँझ धनगढी-२ भन्सार रोड क्षेत्रबाट नियन्त्रणमा लिएको हो। उनी भारत प्रवेश गर्ने क्रममा पक्राउ परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी नयाब निरीक्षक सुशील चन्दको नेतृत्वमा खटिएको प्रहरीले टोलीले खेमराजलाई घटना भएको १० दिनपछि पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comment