मल नदिएपछि रास्वपाकै सांसद करिश्मा कठरिया आक्रोशित, किसानको आँसुको व्यापार नगर्न ध्यानाकर्षण
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद करिश्मा कठरियाले सरकारले किसानलाई चाहिने मल र बिउ दिन नसक्दा आफूहरुले लाचार महसुस गर्नुपरेको बताएकी छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा उनले भनिन्, ‘हनहनी ज्वरो आउँदासमेत सिटामोलभन्दा पहिले मल चाहियो भन्दै रुने किसानको पीडा सुन्दा सरकारको मुटु किन दुख्दैन सभामुख महोदय ?’
किसान मल मिलाइदिनु भन्ने तर सरकार गोदाममा मल छ भनिरहने अवस्था रहेको उनले बताइन् । ‘हाम्रा अन्नदाताहरु भनिरहेका छन्- बरु ज्वरो सहौंला, रोग सहौंला तर भोक र खेतको खडेरी सहँदैनौं । जति मूल्य पनि तिर्न तयार छौँ तर मल मिलाइदेऊ सरकार,’ उनले भनिन्, ‘यो त किसानको आँसुको व्यापार गरेको जस्तो भएन र सभामुख महोदय ? मलसमेत दिन नसक्ने तिमीहरुलाई जिताएर के भयो भन्दै किसानहरुले दैनिक सयौं फोन गर्दा पीडा भइरहेको छ ।’
सरकारले तत्काल अन्नदाता किसानहरुसँग क्षमा याचना गर्नुपर्ने पनि उनले बताइन् ।
Facebook Comment