शनिबार काठमाडौंमा ‘हरेरी सांस्कृतिक साँझ’ आयोजना हुने
काठमाडौंमा आउँदो शनिबार ‘हरेरी सांस्कृतिक साँझ’ आयोजना हुने भएको छ। घोङी स्टेसन प्रालिको आयोजनामा साउन ९ गते भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा कार्यक्रम आयोजना हुन लागेको हो। दिउँसो २ बजेदेखि राति ९ बजेसम्म सञ्चालन हुने कार्यक्रममा थारू समुदायका कलाकार, स्रष्टा, सांस्कृतिक अभियन्ता तथा विभिन्न क्षेत्रका व्यक्तित्वको सहभागिता रहने जनाइएको छ।
कार्यक्रम संयोजक नरेश जोगीका अनुसार ‘आपसी एकता, सांस्कृतिक पहिचान, समृद्ध थारू समाज हाम्रो अभियान’ भन्ने नारासहित आयोजना हुन लागेको कार्यक्रमले थारू समुदायको सांस्कृतिक सम्पदाको संरक्षण, प्रवर्द्धन र नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्य राखेको छ।
कार्यक्रममा थारू समुदायका चर्चित गायक-गायिका, नृत्य कलाकार तथा सांस्कृतिक समूहले परम्परागत गीत, नृत्य, वेशभूषा र बाजागाजासहित सांस्कृतिक प्रस्तुति दिने आयोजकले जनाएको छ। कार्यक्रममा लोक, आधुनिक तथा हास्य विधाका प्रस्तुति पनि समावेश गरिनेछ।
आयोजकका अनुसार कार्यक्रममा विशेष अतिथिका रूपमा नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरी सहभागी हुनेछन्। साथै सामाजिक, सांस्कृतिक र राजनीतिक क्षेत्रका अन्य व्यक्तित्वको पनि उपस्थिति रहने अपेक्षा गरिएको छ।
आयोजकले यसलाई मनोरञ्जनात्मक कार्यक्रम मात्र नभई थारू समुदायको भाषा, कला, संस्कृति र पहिचान संरक्षणको अभियानका रूपमा अघि बढाएको जनाएको छ। कार्यक्रमको प्रवेश शुल्क ५०० रुपैयाँ तोकिएको छ।
Facebook Comment