प्रहरी अनुसन्धानले भन्यो- चकलेट खुवाएर बलात्कार, त्यसपछि हत्या

दिवाकर भण्डारी/सिमरा

बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१ भक्तीटोलस्थित एक घरमा मृत भेटिएकी तीन वर्षीया बालिका गरिमा (गढिमा) चौधरीको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ। साउन ३१ गते घर अगाडी खेल्दै गरेको अवस्थामा बेपत्ता भएकी बालिकाको शव मंगलबार साँझ फेला परेको हो।

घटनास्थल र शवको अवस्थाबाट हत्याको निष्कर्षमा पुगेको प्रहरीले शव भेटिएको केही समयमै घटनामा संलग्न एक १६ वर्षीय बालकलाई पक्राउ गरेको छ। पक्राउ परेका बालकले आफूले नै गरिमाको बलात्कार र त्यसपछि हत्या गरेको स्वीकार गर्दै घटनाबारे जानकारी दिएका छन्।

प्रहरीका अनुसार पक्राउ परेका बालक जीतपुरसिमरा उपमहानगरपालिका-२ का हुन्। उनी जीतपुरसिमरा-१ दसधुरेस्थित प्रोग्रेस चौधरीले चलाउने म्याजिक गाडीमा सह-चालकको रुपमा काम गर्थे। १० दिनअघि मात्रै चौधरीको म्याजिकमा काम गर्न थालेका बालकले गरिमालाई फकाउँदै लगेर बलात्कार र हत्या गरेको स्वीकार गरेका छन्।

घटनाको दिन मनोज चौधरीकी कान्छी छोरी गरिमा करिब एक सय मिटर टाढा रहेको प्रोग्रेसको घरमा गएकी थिईन्। सधैंझै प्रोग्रेसको पाँच वर्षीया छोरीसँग खेल्न गएका बेला गरिमा बेपत्ता भएकी हुन्। घटना हुँदा बालिकाको बुवा मनोज अमलेखगञ्जमा वेल्डिङ काम गर्न निस्किसकेका थिए । आमा मनमती आफ्नै घरमा थिइन्।

सधैंझै खेलेर फर्कनेमा ढुक्क रहेकी मनमतीले त्यसदिन गरिमा नफर्किएको र प्रोग्रेसको घरमा समेत नदेखेपछि खोजी सुरु गरिन्। केही बेर खोज्दा समेत नभेटिएपछि परिवार र स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले गरिमा वेपत्ता भएको स्थानलाई केन्द्रीत गरेर खोजी गरिरहेको थियो।

हराएकी बालिकाको अवस्था पत्ता लगाउन प्रहरीले वरपरको सिसिटिभी फुटेज जाँच गर्नुका साथै नजिकको जंगल तथा बजार क्षेत्रमा विभिन्न टोली परिचालन गर्दै आएको थियो। खोजीकै क्रममा बेपत्ता भएको स्थानभन्दा दक्षिणतर्फको एक सुनसान घरमा मंगलबार साँझ बालिकाको शव अर्धनग्न अवस्थामा भेटियो। उक्त घरबाट गन्ध आएपछि झ्यालबाट हेर्दा बालिकाको शव देखेर प्रहरीलाई खबर गरेको स्थानीयले बताए।

शव फेला परेलगत्तै प्रहरीले अनुसन्धानका लागि वीरगन्जबाट तालिमप्राप्त कुकुर झिकायो। बालिकाको लुगा सुँघेर घटनास्थलबाट निस्किएको तालिमप्राप्त कुकुर केहीबेरपछि प्रोग्रेसकै घर वरपर पुगेर रोकियो। प्रहरीले शंकाको आधारमा बालकलाई तत्कालै नियन्त्रणमा लिई सोधपुछ थाल्यो। सोधपुछका क्रममा बालकले बालिकालाई चकलेट खुवाउँदै फकाएर उक्त घरसम्म लगेको र बलात्कारपछि हत्या गरेको कहालिलाग्दो बयान दिँदा प्रहरी समेत चकित बनेका थिए।

प्रोग्रेसको घर अगाडी खेल्दै गरेकी बालिकालाई बालकले चकलेट खाने भन्दै लिएर हिँडेका थिए। उनले नजिकैको पसलबाट १० रुपैयाँको चकलेट किनेर बालिकालाई दिए। चकलेट पाएपछि अवोध बालिका उनको पछिपछि उक्त घरमा पुगिन्। जुन घर पाँच महिनादेखि खाली र सुनसान थियो। खाली र खुला रहेको उक्त घरको विषयमा जानकार रहेका बालकले बालिकालाई त्यही घरमा लैजाने मनशाय बनाईसकेका थिए।

उक्त घरभित्र लगिसकेपछि बालिकामाथि जबरजस्ती करणी गरेको र सो समयमा अचेत भएकी बालिकाको घाँटीमा डोरीले कसेर आफू निस्किएको बयान बालकले प्रहरीलाई दिएका छन्। त्यसको केहीबेर पछि उनी फेरि त्यही सुनसान घरमा पुग्छन्। त्यहाँ बालिकालाई मृत देखेपछि घाँटीको डोरी खोलेर नजिकै रहेको तन्नाले छोपेर उनी प्रोग्रेसको घरमा फर्कन्छन्। घटनास्थलको अवस्था र बालकले दिएको बयान मिल्दोजुल्दो भएपछि उनैबाट हत्या भएको निष्कर्ष प्रहरीले निकालेको छ।

यता बेपत्ता भएको खबर फैलँदै थियो। प्रहरी, परिवार र स्थानीयले बालिकाको खोजी सुरु गरिसकेका थिए। बालक पनि अनविज्ञ बन्दै बालिकाको खोजी गर्ने टोलीमै देखिन थाल्छन्। आफ्नो अपराध लुकाउन बालिकाको खोजीमा सहयोग गरेझैं गरेका बालक अन्ततः प्रहरीबाट उम्कन सक्दैनन्।

प्रहरीले पक्राउ गरेपछि उनले आफ्नो अपराध स्वीकार गरेका हुन्। बयानका क्रममा बालकले घटनापछि आफूले गलत गरेको महसुस भएको र डरका कारण लुकाउन खोजेको बताएका छन्। बलात्कार गरेको पुष्टि भएपछि प्रहरीले उनको स्वास्थ्य परिक्षण गरी हिरासतमा राखेको छ भने म्याजिकका चालक चौधरीलाई समेत नियन्त्रणमा लिएको छ।

प्रहरीले पक्राउ परेका दुबै जनालाई बुधबार सार्वजनिक समेत गरेको छ । उनीहरुलाई बारा जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिए। प्रहरी उपरीक्षक कुँवरले पक्राउ परेकामाथि जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्धामा कारवाही प्रक्रिया अघि बढाइएको बताए।

घटनाको विरोधमा स्थानीयले पथलैया–वीरगन्ज सडकखण्डस्थित दसधुरे क्षेत्रमा दिनभर टायर बालेर प्रदर्शन गरेका छन् । घटनामा संलग्नलाई हदैसम्मको कारवाहीको माग राख्दै स्थानीयले दसधुरेसहित पथलैया, जीतपुरमा प्रदर्शन गरेका हुन् । पथलैया र जीतपुरको प्रदर्शन स्थगित भएपनि दसधुरेमा भने राजमार्ग अवरोध यथावत छ । स्थानीयले कानून संसोधन गरेर भएपनि दोषीलाई फाँसीको सजाय हुनुपर्ने माग राखेका छन् ।

यता जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले घटनाप्रति दुःख व्यक्त गर्दै दोषीलाई कडा सजायको माग गरेका छन् भने अनुसन्धानका लागि स्थानीय सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्। एक विज्ञप्ति जारी गर्दै पौडेलले जीतपुरसिमरा–२ स्थित सरस्वती आधारभूत विद्यालयमा बाल कक्षा (नर्सरी)मा अध्ययनरत बालिकाप्रति श्रद्धान्जली व्यक्त गर्न बिहीबार सम्पूर्ण विद्यालयमा शोकसभा राख्न समेत अपिल गरेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *