थारू संघसंस्थाहरूले भन्यो- गरिमा चौधरीको हत्यारालाई कडा कारबाही गर्नू
बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ सिमराकी तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्नलाई कडा कारबाही गर्न विभिन्न थारू संघसंस्थाहरूले सरकारसँग माग गरेका छन्।
थारू संघसंस्थाहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै अबोध बालिकामाथि बलात्कार गरी क्रूरतापूर्वक हत्या गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। उनीहरूले घटनाप्रति दुःख व्यक्त गर्दै मृतक गरिमा चौधरीप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्।
प्रेस विज्ञप्तिमा घटनाको अनुसन्धानका लागि मृतकका परिवारबाट प्रहरी प्रशासनमा खोजतलासका लागि जानकारी गराउँदा पनि सुरक्षा निकायबाट बेवास्ता र ढिलासुस्ती गरिएको आरोप लगाइएको छ। जसका कारण आपराधिक घटना झन् जटिल र रहस्यमय बन्न पुगेको संघसंस्थाहरूको भनाइ छ।
उनीहरूले जबर्जस्ती करणी गरी निर्मम हत्या गरिएको घटनाले मानव समाज र सभ्यतालाई नै लज्जित बनाएको बताएका छन्। यस्तो घटना सामान्य नभएको भन्दै समाजमा चेतना र सुरक्षा व्यवस्था मजबुत बनाउनुपर्नेमा उनीहरूले जोड दिएका छन्।
थारू संघसंस्थाहरूले घटनाको सत्यतथ्य पत्ता लगाई दोषी पहिचान गरेर कानुनको कठघरामा उभ्याउन र कडा सजाय दिन नेपाल सरकार तथा गृह प्रशासनसँग जोडदार माग गरेका छन्। साथै, मृतक बालिकाको आत्मालाई न्याय दिलाउँदै परिवारलाई उचित राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारसँग आग्रह गरिएको छ।
घटनाका सम्बन्धमा सत्य तथ्य बुझ्न र मृतकको घरपरिवारसँग भेट गरी सहानुभूति तथा संवाद गर्न थारू कल्याणकारिणी सभा, थारू आयोगलगायतको सहकार्यमा थारू संघसंस्थाहरूबाट प्रतिनिधिमण्डल खटाउने निर्णयसमेत गरिएको विज्ञप्तिमा उल्लेख छ।
संयुक्त विज्ञप्तिमा थारू कल्याणकारिणी सभा केन्द्रीय समिति, थारू कल्याणकारिणी सभा काठमाडौं उपत्यका समिति, थारू महिला सभा केन्द्रीय समिति, थारू महिला समाज केन्द्रीय समिति, नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ, बर्दियाली थारू विकास मञ्च काठमाडौं, थारू विद्यार्थी समाज केन्द्रीय समिति, थारू विद्यार्थी समाज उपत्यका समिति, थारू विद्यार्थी सभा केन्द्रीय समिति, थारू संस्कृति विकास मञ्च केन्द्रीय समिति, नेपाल आदिवासी जनजाति चलचित्र महासंघ, थारू आर्टिस्ट समाज केन्द्रीय समिति, प्रभुनारायण स्मृति प्रतिष्ठान, नेपाल थारू पत्रकार संघ केन्द्रीय समिति र थारू महिला सभा काठमाडौं उपत्यका समितिका प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन्।
Facebook Comment