गरिमा चौधरी हत्या प्रकरण : फाँसीको व्यवस्था गर्न मागसहित काठमाडौंमा प्रदर्शन

बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन भएको छ।

घटनाको विरोधमा अधिकारकर्मी, युवा तथा सर्वसाधारणहरूले शुक्रबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन्। उनीहरूले गरिमा चौधरीको परिवारसँग प्रशासनले गरेको सहमतिप्रति आपत्ति जनाएका छन्। प्रदर्शनकारीहरूले ‘बलात्कारीलाई फाँसी दे’, ‘हामीलाई १० लाख क्षतिपूर्ति होइन, न्याय चाहियो’ जस्ता प्लेकार्डसहित नाराबाजी गरेका थिए।

उनीहरूले बलात्कार र हत्यामा संलग्न दोषीहरूलाई हदैसम्मको कडा कानुनी कारबाहीको माग गरेका छन्। साथै, घटनाको छानबिनमा गम्भीर लापरवाही गर्ने इलाका प्रहरी कार्यालय सिमराका जिम्मेवार प्रहरी अधिकृतहरूमाथि विभागीय तथा कानुनी कारबाही हुनुपर्ने उनीहरूको भनाइ छ। पीडित परिवारलाई केवल आर्थिक राहत दिएर पन्छिनुको सट्टा निष्पक्ष न्यायको पूर्ण प्रत्याभूति हुनुपर्ने माग प्रदर्शनकारीहरूले राखेका छन्।

प्रहरीका अनुसार जितपुरसिमरा–१ दसधुरीकी मनमती चौधरीकी तीन वर्षीया छोरी गरिमा चौधरी साउन ३१ गते बिहान घरबाट हराएकी थिइन्। उनको शव मंगलबार एउटा घरको खाली कोठामा फेला परेको थियो। उक्त घटनापश्चात् पीडित परिवार, स्थानीयवासी, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र प्रशासनबीच बिहीबार राति पाँचबुँदे सहमति भएको थियो। उक्त सहमतिमा दोषीलाई कडा कारबाही गर्नेसँगै पीडित परिवारलाई राहत, क्षतिपूर्ति र रोजगारीको व्यवस्था गर्ने विषयहरू समावेश छन्।

यसैबीच, घटनाको अनुसन्धानमा कमजोरी गरेको भन्दै इलाका प्रहरी कार्यालय सिमराका डीएसपी दिलीप क्षेत्रीलाई जिम्मेवारीबाट हटाएर फिर्ता बोलाइएको छ।

गरिमाको बलात्कारपछि हत्या भएको घटनालाई लिएर दोषीलाई कडा कारबाही, निष्पक्ष अनुसन्धान र पीडित परिवारलाई न्यायको माग गर्दै स्थानीयवासी तथा पीडित पक्षले निरन्तर आन्दोलन गर्दै आएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *