गरिमा चौधरी प्रकरणमा एसएसपी ढकाल नेतृत्वको टोलीले गर्दैछ सुक्ष्म अनुसन्धान

दिवाकर भण्डारी/सिमरा
गरिमा हत्या प्रकरण र यससँग जोडिएका सबै घटनाक्रमको विषयमा छानबिन र अनुसन्धान गर्न वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) प्रभुप्रसाद ढकालको नेतृत्वमा बनेको समितिले बारा आएर काम सुरु गरेको छ।

बालिकाको हत्या प्रकरण र घटना स्वीकार गरेका बालकको भिडियो सार्वजनिकलगायतका विषयमा छानबिन र अनुसन्धान गर्न मधेस प्रदेश प्रहरी कार्यालयले एसएसपी ढकालको नेतृत्वमा समिति बनाएको थियो। समितिमा प्रहरी निरीक्षक बबिन्द्र नेवाङ र वरिष्ठ प्रहरी नायब निरीक्षक रूपक मैनाली छन्।

उक्त समिति अहिले बारामा रहेर सबै घटनाक्रमको सुक्ष्म अनुसन्धान र छानबिन गरिरहेको छ। एसएसपी ढकालले बालकको भिडियो सार्वजनिक भएको विषयमा दोषी देखिएका प्रहरीलाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया सुरु भइरहेको र अन्यको हकमा छानबिन जारी रहेको बताए।

भिडियो सार्वजनिक भएको घटनासँगै समितिले गरिमा हत्या प्रकरणका दोषीलाई हदैसम्मको कारबाही र पीडित परिवारलाई न्याय दिलाउनका लागि अनुसन्धान प्रक्रियामा सहयोग गरिरहेको छ। ‘भिडियो सार्वजनिक गर्ने दोषी प्रहरीलाई कानुनी दायरमा ल्याउने काम भएको छ,’ एसएसपी ढकालले भने, ‘त्यसबाहेक गरिमा हत्या प्रकरणको सुक्ष्म अनुसन्धानमा सहयोग गरिरहेका छौं।’

गरिमा हत्या प्रकरणको अनुसन्धान गर्न प्रहरीले हालसम्म सात पुरुष र दुई महिला गरी ९ जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा दुई नाबालकसमेत छन्। पक्राउ परेकामध्ये १६ वर्षीय बालकले घटना स्वीकार गरिसकेका छन्। उनले घटनामा अर्को १४ वर्षीय बालक पनि संलग्न रहेको दाबी गरेका छन्।

साउन ३१ गते जीतपुरसिमरा उपमहानगरपालिका-१ दसधुरे बस्तीबाट बिहान ८:३० बजे हराएकी बालिका भदौ २ गते मंगलबार मृत फेला परेकी थिइन्। घरदेखि करिब डेढ सय मिटर दक्षिणतर्फको खाली घरमा अर्धनग्न अवस्थामा उनको शव भेटिएको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *