अमेरिकी थारूहरूको संस्था टीएफएले गरिमा चौधरीको परिवारलाई दियो १ लाख ७५ हजार आर्थिक सहयोग

अमेरिकी थारूहरूको संस्था थारु एन्ड फ्रेन्ड्स एसोसिएसन (टीएफए)ले गरिमा चौधरीको परिवारलाई आर्थिक सहयोग गरेको छ। जितपुर सिमरा उपमहानगरपालिका-१ स्थित निवासमा गरिमाका बुबा मनोज चौधरी मानमती चौधरीलाई आर्थिक सहयोग गरिएको हो।

टीएफका प्रतिनिधि वीरेन्द्र चौधरीले मनोज चौधरीको निवासमै पुगेर सोमबार रकम हस्तान्तरण गरेका हुन्। उनीसँगै प्रमोद चौधरी पनि सहभागी थिए। टीएफका अनुसार मानवीयताका हिसाबले गरिमा चौधरीका अभिभावकलाई १ लाख ७५ हजार रुपैयाँ आर्थिक सहयोग गरिएको हो।

टीएफका प्रतिनिधि वीरेन्द्र चौधरीले उक्त रकम हस्तान्तरण गर्दै आफूहरू न्यायको पक्षमा उभिएको बताए। उनले जघन्य अपराधमा संलग्नहरूलाई हदैसम्मको कानुनी कारबाही गर्नुपर्ने बताए।

त्यस्तै संस्थाका अध्यक्ष सुरेन्द्र चौधरीले न्यायिक लडाइँमा थारू समुदायको साथ समर्थन रहनुपर्ने बताए। उनले आर्थिक सहायता जीविकोपार्जनका निम्ति प्रदान गरिएको बताए। ‘तीन वर्षीय बालिकामाथि जुन अपराध भएको छ। त्यो कुनै पनि हिसाबले क्षम्य हुन सक्दैन। हाम्रो मानवीयताको हिसाबले जीविकोपार्जनका निम्ति उक्त सहयोग प्रदान गरेका हौं,’ उनले भने।

गरिमका बुबा मनोज चौधरीले आफूहरू न्यायाको पर्खाइमा रहेको बताए। उनले रसुवा बाढीपछि भएको प्राकृतिक विपत्तिलाई आफूले बुझेको र सरकारले पनि आफूहरूसँग गरेको सम्झौता कार्यान्वयन गर्न ढिलाइ गर्न नहुने बताए।
‘विपत्ति बेला हो यो। मैले बुझेको छु। तर, सरकारले अब हामीसँग गरेको सम्झौताको कार्यान्वयन गर्नुपर्छ। नयाँ कानुन बनाएर दोषीलाई कडाभन्दा कडा सजाय तोकिनुपर्छ,’ उनले भने।

सरकारसँग कुनै रकम नलिएको र त्यसखालको सम्झौता पनि नगरेको उनको भनाइ छ। तर, सामाजिक सञ्जालमा पैसा लिएकोबारे भ्रम सिर्जना गरिएकोप्रति उनले दुखेसो पोखे। उनले आफ्नी छोरीको न्यायभन्दा ठूलो आफ्ना लागि केही नभएको बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *