गत भदौ २४ मा जब फूलकुमारी थनेतले आफ्नो घर जलेको खबर सुनिन्…

घर जलाएको खबर सुनेपछि फुलकुमारी थनेतलाई बेहोस हुन्छु जस्तो लाग्यो। आफूलाई सम्हाल्नै सकिनन् उनले। वर्षौंको श्रमले बनाएको घरमा प्रदर्शनकारीले आगो लगाएको खबर पत्याउनै कठिन भयो उनलाई। केही समयपछि खरानी भएको घरअघि पुग्दा उनी भक्कानिइन्, आँसु थाम्नै सकिनन्।

कावासोती नगरपालिका उपप्रमुख फुलकुमारी थनेत गत वर्षको घटना अन्नपूर्णसँग बुधबार साझा गर्दा पनि भावुक बनिन्। ‘घर जल्यो भन्ने सुन्दा नै बेहोस हुँला जस्तो भयो। पछि गएर हेर्दा खरानी भएको रहेछ। आँखाबाट आँसु आयो,’ उनले भनिन्।

थनेतको घर गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी भएको थियो। आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले नवलपुरमा जनप्रतिनिधि तथा राजनीतिक व्यक्तिका घर-सम्पत्तिलाई निशाना बनाउने क्रममा उनको घर पनि जलेको हो।

फुलकुमारीले आफ्नो लागि त्यो घर कुनै राजनीतिक हैसियतको प्रतीक नभएर आफू र परिवारको जीवनभरको संघर्षको परिणाम भएको बताइन्। ‘हामीले आफ्नै कमाइले बनाएका हौं। लुटेर कमाएका थिएनौं,’ उनले भनिन्, ‘मेरो आफ्नै कमाइ र १४ वर्ष श्रीमान् कतार बसेर कमाएको धन थियो। उपमेयर हुँ भन्दैमा म लुटेरा हुन्छु? कस्तो समाज निर्माण गर्दैछौं हामी?,’ उनले प्रश्न गरिन्।

फुलकुमारीको घरको कथा २०७९ सालको स्थानीय निर्वाचनबाट सुरु भएको होइन। यसको जग २०५३ सालतिरै राखिएको थियो। विगत स्मरण गर्दै उनले भनिन्, ‘म सिलाइ-कटाइको काम गर्थें, सिकाउँथें पनि, सीमित आम्दानी थियो। श्रीमान् सुरज महतो वैदेशिक रोजगारीका लागि कतार जानुभयो, यो घरको जग त्यही थियो।’

उनले आफैंले इँटा बनाएर, मिस्त्री लेबरको समेत काम गरेर घर निर्माण गरेको बताइन्। उनले भनिन्, ‘श्रीमान्‌ले कतारबाट पठाएको रकम र आफूले सिलाइ-कटाइबाट कमाएको आम्दानी जोडिँदै जाँदा वर्षौंको श्रम र मेहनतपछि त्यो घरले पूर्ण स्वरूप पाएको हो।’

फुलकुमारीले ‘राजनीतिक पदमा रहेकै कारण सबै भ्रष्टाचारी हुन्छन्’ भनेर भाष्य निर्माण गर्नु गलत भएको बताइन्। ‘मेरो आफ्नै कमाइ थियो। श्रीमान् १४ वर्ष कतार बसेर कमाएको धन थियो,’ उनी भन्छिन्। उनले भदौ २३ र २४ को घटनालाई अलग-अलग तवरले हेरेर छानबिन हुनुपर्ने बताइन्।

घटनापछि तत्काल परिवार आफन्तको घरमा आश्रय लिन बाध्य भएको उनले सुनाइन्। ‘अहिले भने घरलाई सामान् रूपमा बस्न मिल्ने बनाइएको छ। पूर्ण पुनर्निर्माण नभए पनि कामचलाउ रूपमा परिवार यहीँ बसिरहेको छ,’ उनले भनिन्।

भदौ २४ गतेको घटनामा फुलकुमारीको घरमात्रै आगजनीमा परेको थिएन। नवलपुरका विभिन्न स्थानीय तहका जनप्रतिनिधि तथा राजनीतिक व्यक्तिका घरसमेत आन्दोलनकारीको निशानामा परेका थिए।

गैंडाकोट नगर प्रमुख मदनभक्त अधिकारी, उपप्रमुख शान्ति कोइराला, देवचुली नगर प्रमुख हरिप्रसाद न्यौपाने, उपप्रमुख पार्वता तिवारी, कावासोती नगर प्रमुख विष्णुप्रसाद भुसाल, मध्यविन्दु नगर प्रमुख भीमलाल अधिकारी, उपप्रमुख पूर्णकला चौधरी, हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डे लगायतका घर तथा सम्पत्तिमा आगजनी भएको थियो।

गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र नेपाली, गण्डकी प्रदेशसभा सदस्य महेन्द्रध्वज जिसी, रोशनबहादुर गाहा, पूर्वसांसद ओमकला गौतम, जीवन श्रेष्ठ, प्रदेशसभा सदस्य पद्मा श्रेष्ठ, पूर्वसांसद तिलक महत लगायतका घर तथा सम्पत्तिमा समेत आगजनी भएको थियो। साथै दर्जनौं सरकारी कार्यालय तथा सार्वजनिक सम्पत्तिसमेतमा त्यो दिन आगजनी भएको थियो।

रमेश बस्ताकोटी/अन्नपूर्णपोस्ट्




Leave a Reply

Your email address will not be published. Required fields are marked *