एआईलाई थारू भाषा सिकाइँदै
लुम्बिनी प्राविधिक विश्वविद्यालय इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थान, नेपालगन्जका स्नातकोत्तर तह (एमटेक) का विद्यार्थीले कृत्रिम बौद्धिकता (एआई)लाई थारू भाषा सिकाउने प्रयास थालेका छन् । उनीहरूले वडा कार्यालयको सेवा डिजिटल बनाउनेलगायत प्रविधिमा आधारित १० परियोजना तयार गरी सम्बन्धित सरकारी, गैरसरकारी तथा निजी संस्थालाई हस्तान्तरण गरेका छन् ।
विश्वविद्यालयको इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थानअन्तर्गत एमटेक कम्प्युटर साइन्स र एमटेक इन्फर्मेसन टेक्नोलोजीका दोस्रो सेमेस्टरका विद्यार्थीले विभिन्न संस्थाको आवश्यकता र समस्या पहिचान गरी परियोजना विकास गरेको बताएका छन् ।
सो परियोजनामध्ये थारू भाषामा पाठ निर्माण वेबमा आधारित प्राकृतिक भाषा प्रशोधन प्रणाली पनि विद्यार्थीले तयार गरेका छन् । परियोजनामा कृत्रिम बौद्धिकतालाई थारू भाषा सिकाउने र थारू भाषामै पाठ सिर्जना गर्नसक्ने प्रणाली विकास गर्ने प्रयास गरिएको एमटेकका विद्यार्थी लौटन थारुले जानकारी दिए । “थारू भाषाको सानोतिनो शब्दको अर्थ आइरहेको छ तर लामो शब्दको अर्थ आउन सकेको छैन”, उनले रासससँग भने ।
अहिले प्रयोगमा रहेका अधिकांश कृत्रिम बौद्धिकतामा आधारित उपकरण र भाषिक नमुनामा थारू भाषाको स्रोत तथा समर्थन सीमित भएकाले भाषालाई एआई प्रणालीमा समेटिएको विद्यार्थी थारुले बताए । परियोजनामा थारू भाषाभित्र रहेको भाषिक तथा क्षेत्रगत विविधतालाई समावेश गरी राना थारू, डगौरा थारूलगायत भाषिक प्रयोगलाई समेटिएको छ ।
थारू भाषाका पर्याप्त डिजिटल स्रोत र भाषिक तथ्याङ्क उपलब्ध नहुँदा प्रणाली विकासको काम अपेक्षाभन्दा केही ढिलो भइरहेको उनले बताए । विद्यार्थी थारुले उपलब्ध स्रोतलाई सङ्कलन र प्रशोधन गर्ने काम भइरहेको जानकारी दिँदै लोरा प्रविधिमार्फत ‘क्वेन मोडल’लाई थारू भाषामा अनुकूलन गर्ने काम भइरहेको उल्लेख गरे ।
प्रणालीको भाषिक शुद्धता र प्रयोग योग्यता परीक्षणका लागि थारू भाषा जान्ने व्यक्तिबाट मूल्याङ्कन र स्तर निर्धारण लिने तयारी गरिएको उनले बताए । यसबाट प्रणालीले उत्पादन गर्ने पाठ थारू भाषाको प्रयोग र भाषिक संरचनासँग मेल खाने वा नखाने परीक्षण गरिने थारुले बताए ।
सो परियोजनामा थारूसहित राजु सुवेदी, रामद्वारिका चौधरी र रविन श्रेष्ठ संलग्न छन् ।
लुम्बिनी प्राविधिक विश्वविद्यालयका निमित्त प्रमुख तथा डीन डा. निरज केसीले थारू भाषा एआईलाई सिकाउने अभ्यास नौलो प्रयोग भएको उल्लेख गर्दै अहिलेसम्म विश्वमा अन्य धेरै भाषा भए पनि थारू भाषाको प्रयोग डिजिटल प्रणालीमा हुन नसकेको बताए ।
उनले विद्यार्थीलाई सैद्धान्तिक ज्ञानभन्दा पनि व्यावहारिक र वास्तविक समस्या समाधानमा प्रविधिको प्रयोग गर्नसक्ने उद्देश्यले यस्ता परियोजना प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
“कक्षाकोठामा सिकेको ज्ञानलाई वास्तविक संसारका समस्यासँग जोडेर प्रयोग गर्नु परियोजनाको मुख्य उद्देश्य रहेको छ”, डा. केसीले भने ।
विद्यार्थीले तयार पारेको अर्को परियोजना स्मार्ट वडा सूचना तथा नागरिक सहभागिता प्रणाली हो । वडा कार्यालयमा हुने कागजी काम घटाउने र सेवा तथा सूचनालाई डिजिटल माध्यमबाट व्यवस्थित गर्ने उद्देश्यले सो प्रणाली विकास गरिएको हो ।
समूहका नेता ब्रिजेस वैश्यका अनुसार वडामा सेवा प्रवाहका क्रममा देखिएका समस्या र नागरिकका आवश्यकतालाई पहिचान गरेर प्रणालीको अवधारणा तयार पारिएको हो । वडा कार्यालयमा हुने कागजी कामलाई सकेसम्म कम गर्ने र सेवासँग सम्बन्धित सूचना डिजिटल माध्यमबाट व्यवस्थित गर्ने प्रणालीको लक्ष्य रहेको उनले जानकारी दिए ।
विद्यार्थीका अन्य परियोजनामा क्युआर कोडमा आधारित रेस्टुरेन्ट अर्डर प्रणाली पनि रहेको छ । ग्राहकले क्युआर कोडमार्फत रेस्टुरेन्टका सेवा तथा खाद्य सामग्री हेरेर अर्डर गर्नसक्ने अवधारणामा प्रणाली विकास गरिएको हो । शैक्षिक प्रमाणपत्र प्रमाणीकरण प्रणाली, नतिजा व्यवस्थापन प्रणाली, आधुनिक व्यवस्थापन प्रणाली, डिजिटल नागरिक बडापत्र प्रणाली र किसान सदस्यता कार्ड प्रणालीलगायतका परियोजना पनि विद्यार्थीले तयार गरेका छन् ।
एमटेक कम्प्युटर साइन्स र एमटेक इन्फर्मेसन टेक्नोलोजीका कार्यक्रम संयोजक सहायक प्राध्यापक प्रकाश गुप्ताले यी सबै परियोजना कार्यान्वयन हुन बाँकी रहेको जानकारी दिए । एमटेक कम्प्युटर साइन्स र एमटेक इन्फर्मेसन टेक्नोलोजीमा करिब ६० विद्यार्थी अध्ययनरत छन् ।
Facebook Comment