‘जबुनिक रुखवा’ले भन्न खोजेको श्रम, प्रेम र मौनताको कथा (भिडियो)

दिनभरको श्रमले थाकेको शरीर। साँझ पर्दै गर्दा घर फर्किएको मन। उराठलाग्दो घरमा श्रीमान्-श्रीमतीको उपस्थितिले एकाएक छाउने न्यानोपन। अनि जामुनको काठबाट एउटा पलङ बनाउने अधुरो सपना।

यही साधारण जीवनभित्र लुकेका प्रेम, प्रतीक्षा, थकान, पश्चात्ताप र संवादविहीनताको कथा बोकेर आएको छ मौलिक थारू गीत ‘जबुनिक रुखवा’।

थारू समुदायको परम्परागत मौलिक झुमरा लोकगीतको एउटा स्वरूप रटनचवामा आधारित यो गीत हालै सार्वजनिक गरिएको हो। छविलाल कोपिलाका अनुसार झुमरा गीतका पनि समय, स्थान र विषयवस्तुका आधारमा विभिन्न रूप छन्। रटनचवा, डिननचवा, बिहग्रा, भिन्सरिया, महुट्या, हुरडुङ्वा लगायतका रूपमध्ये ‘जबुनिक रुखवा’ रटनचवा गीत हो।

राति गाइने र नाचिने भएकाले रटनचवा भनिने यस गीतको परिवेश पनि साँझपछिको समयसँग जोडिएको छ। दिनभर श्रममा बिताएको जीवन साँझको विश्राममा आइपुग्दा मनभित्र उम्रिने भावना गीतका शब्दमा भेटिन्छन्।

गीतमा ‘पलङ्ग’ एउटा महत्वपूर्ण बिम्बका रूपमा आएको छ। पलङ्ग यहाँ केवल सुत्ने साधन होइन, मानव जीवनको विश्राम, आनन्द र निद्राको सौन्दर्यसँग जोडिएको प्रतीक हो। जामुनको रुखको काठ काटेर पलङ्ग बनाउने आकांक्षाभित्र श्रमजीवी दम्पतीको सानो तर गहिरो सपना देखिन्छ। ‘जबुनिक रुखवा’को कथा त्यही सपनाबाट विस्तार हुन्छ।

दिनभरको काम र बिछोडको पीडा बोकेको हृदय साँझ ढल्दै गर्दा घरमा दुई जनाको भेट हुन्छ। दिनभर सुनसान र उराठ लाग्ने घर उनीहरूको उपस्थितिले स्वर्गजस्तै उज्यालो हुन्छ। श्रीमती दिनभरिका दुःख-सुख सुनाउन चाहन्छिन्। मनमा साँचिएका कुराहरू खोल्न चाहन्छिन्। तर थकित शरीरले उनलाई साथ दिँदैन। दिनभर श्रम गरेको श्रीमान् आलस्यले निदाउँछन्।

श्रीमतीका मनमा साँचिएका संवाद त्यहीँ रोकिन्छन्। केही भन्न खोज्दाखोज्दै फेरि एक्लोपनले घेर्छ। तर प्रेम र आदर भने मर्दैन। निदाइरहेका श्रीमान्को शरीरमा दिनभरको श्रमको थकान र गर्मी देखेपछि उनको मनमा दया जाग्छ। पसिनाले भिजेको थकित शरीरलाई शीतलता दिन उनी पङ्खा हम्काउन थाल्छिन्। पङ्खा हम्काउँदा हम्काउँदै उनी पनि निदाउँछिन्।

केहीबेरपछि श्रीमान् ब्युँझिन्छन्। तर त्यतिबेला श्रीमती निदाइसकेकी हुन्छिन्। आफूले श्रीमतीसँग गर्न चाहेको मीठो संवाद अधुरै रहेको महसुस हुन्छ। पश्चात्ताप जन्मिन्छ। दुवै एकअर्कासँग केही भन्न चाहँदाचाहँदै पनि त्यो रात संवादविहीन भएर बित्छ।

यसरी ‘जबुनिक रुखवा’ एउटा पलङ्गले निर्माण गरेको सुन्दर परिवेशभित्र लुकेको श्रमजीवी दम्पतीको सुख-दुःख, प्रेम र अधुरो संवादको कथा बनेर उभिन्छ।

गीतका सर्जकहरूका लागि गीत केवल मनोरञ्जनको साधन होइन। मानव जीवनसँग जोडिएको अनुभूति र समाजको कथा गीतमा आउनुपर्छ भन्ने मान्यता यस सिर्जनाको मूल भावमा देखिन्छ। श्रम, थकान, प्रेम, विश्राम र पारिवारिक सम्बन्धका सूक्ष्म भावनालाई लोकलयमा बाँधेर प्रस्तुत गर्नु गीतको विशेषता हो।

यस गीतको निर्माणमा लवकान्त चौधरीको महत्वपूर्ण योगदान रहेको छ। निर्माण व्यवस्थापनमा छविलाल कोपिलाको सक्रियता रहेको छ। मुख्य गायिकाका रूपमा सोमती चौधरीको मधुर स्वरले गीतलाई जीवन्त बनाएको छ। थारू सांगीतिक क्षेत्रमा स्थापित नाम सोमतीसँगै लालता चौधरी पनि गायनमा जोडिएका छन्।

लालता चौधरीले करिब तीन दशकअघि थारू सांगीतिक समूहसँग आबद्ध भएर ‘थारू झुमरा गीत’ नामक गीति एल्बम सार्वजनिक गरेका थिए। लामो अन्तरालपछि ‘जबुनिक रुखवा’मार्फत उनी पुनः गायनमा फर्किएका छन्। गीतमा उदीयमान गायक आरके थारू र आरजु चौधरीको स्वर पनि रहेको छ।

मडरिया नन्दु चौधरी, संगीत निर्देशक उज्ज्वल सागर तथा ध्वनि प्राविधिक मञ्जिल विक्रम केसीको कार्यले गीतलाई थप आकार दिएको छ। लवकान्त चौधरी, दीर्घ चौधरी र न्यूराज चौधरीको छायांकन रहेको म्युजिक भिडियो स्टुडियो एम नेपालमा रेकर्ड गरिएको हो।

देउखुरीका विभिन्न स्थानमा छायांकन गरिएको भिडियोमा नृत्य निर्देशक सुनिल चौधरीको भूमिका पनि रहेको छ। निमा चौधरीसहित ‘हमार गल्लिक नाच’ टोली र संघारी परिवार उत्तर मजगाउँको टोलीको सहभागिताले भिडियोमा थारू सांस्कृतिक परिवेशलाई थप जीवन्त बनाएको छ।

‘कर्खा-चर्खा’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको ‘जबुनिक रुखवा’ले एउटा लोकगीतलाई केवल मनोरञ्जनको माध्यमका रूपमा होइन, श्रम, सम्बन्ध र जीवनका साना-साना अनुभूतिको दस्तावेजका रूपमा प्रस्तुत गर्ने प्रयास गरेको छ। सायद यही कारण यो गीत सुन्दा थारू समाजको एउटा परिवार मात्र होइन, दिनभर श्रम गरेर साँझ घर फर्किने र आफ्ना प्रियजनसँग केही क्षण बाँड्न चाहने हरेक मान्छेको कथा सुनिएजस्तो लाग्छ।

भिडियो हेर्नुस्:




Leave a Reply

Your email address will not be published. Required fields are marked *