भारतले दियो ३८ करोड बराबरको दसवटा प्रिफ्याब्रिकेटेड स्टील ब्रिज (पुल)का पार्टपुर्जा

भारत सरकारले ३८ करोड बराबरको दसवटा प्रिफ्याब्रिकेटेड स्टील ब्रिज (पुल)का पार्टपुर्जा नेपाललाई हस्तान्तरण गरेको छ। बाढी पहिरोले प्रभावित पारेको क्षेत्रका लागि भारत सरकारले पहिलो खेपमा उक्त पार्टपुर्जा हस्तान्तरण गरेको भारतीय दूतावासले जनाएको छ।

सरकारको आग्रहपछि नेपालको सडक कनेक्टिभिटीलाई पुनःस्थापना गर्न भारतले अनुदानस्वरुप उक्त पार्टपूर्जा हस्तान्तरण गरेको जानकारी दिएको छ। वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवी सहाय मीनाले बुधबार पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाललाई उक्त सामान हस्तान्तरण गरेका थिए।

प्रिफ्याब्रिकेटेड स्टील ब्रिजका बाँकी खेपहरू आगामी दिनमा नेपाल सरकारलाई उपलब्ध गराइने भारतीय दूतावासले जानकारी दिएको छ।

त्यस्तै बाढी र पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न पछिल्लो दुई दिनमा भारतले अत्यावश्यक सरसफाई सामाग्री, औषधी, लाइफ ज्याकेट, स्लीपिङ्ग म्याट, खाद्यवस्तु, इन्फ्लेटेबल रबर बोट, मोटर, टारपोलिन, स्लीपिङ्ग ब्याग, कम्बल, क्लोरिन ट्याब्लेट र पानीका बोतल सहितको २५ टनभन्दा बढीको राहत सामाग्री उपलब्ध गराइसकेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *