एसिया कपमा नेपालले पाकिस्तानलाई हरायो

महिला यु-१९ एसिया कपमा नेपालले पाकिस्तानलाई ६ विकेटले हराएको छ। मलेसियाको क्वालालम्पुरस्थित बायुमास क्रिकेट ओभलमा नेपालले पाकिस्तानलाई ६ विकेटले हराएको हो। पाकिस्तानले दिएको १०५ रनको लक्ष्य नेपालले १९ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो।

नेपालका लागि कप्तान पूजा महतोले नटआउट ४७ रन बनाइन्। ४७ बल सामना गरेकी उनले ३ चौकासमेत प्रहार गरिन्। त्यस्तै साना परवीनले १०, सोनी पाख्रिनले १३ र सिमाना केसीले नटआउट १२ रन बनाए। पाकिस्तानका लागि फातिमा खान र कुरातुलैनले १/१ विकेट लिए।

यसअघि टस जितेर पहिले ‘ब्याटिङ’ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १०४ रन बनाएको थियो। पाकिस्तानका लागि कोमल खानले सर्वाधिक ३८ बनाइन्। उनले ४४ बलमा दुई चौका प्रहार गर्दै ३८ रन बनाएकी हुन्।

त्यस्तै महम अनिसले ‘नटआउट’ २९, रवैल फरहानले १३, कप्तान जोफिशन अय्याजले १२ र फातिमा खानले नटआउट ६ रन बनाइन् भने अरिशा अन्सारीले एक रन जोडिन्। बलिङतर्फ नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक दुई विकेट लिइन् । यस्तै, रचनाकुमारी चौधरी, रिया शर्मा र सिमाना केसीले एक/एक विकेट लिए।

जितसँगै नेपाल सेमिफाइनलमा समेत प्रवेश गरेको छ। लगातार २ खेलमा पाकिस्तान पराजित भएसँगै नेपालले समूह ‘ए’ बाट सेमिफाइनलमा स्थान बनाएको हो। नेपालले मंगलबार भारतसँग प्रतिस्पर्धा गर्नेछ। समूह ‘बी’ मा श्रीलंका, बंगलादेश र मलेसिया रहेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *