कश्मिरमा मारिएका सुदिपको शव बुटवल ल्याइयो

भारतको जम्मू कश्मिरस्थित पहलगाम क्षेत्रमा भएको आतंकवादी हमलामा मारिएका बुटवलका सुदिप न्यौपानेको शव बुटवल ल्याइएको छ। श्रीनगरबाट दिल्ली हुँदै लखनउसम्म विमान ल्याइएको न्यौपानेको शव त्यहाँबाट बेलहिया नाकासम्म एम्बुलेन्समा ल्याइएको हो।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले भारतले जिल्ला प्रशासन कार्यालयको रोहवरमा मृतकका परिवारलाई शव बुझाएको बताए। केही दिन अघि न्यौपाने परिवारसहित जम्मू कश्मिर क्षेत्र घुम्न गएका थिए। मंगलबार अपरान्ह भएको आंतकवादी हमलामा उनको हत्या गरिएको थियो। मृतकको बिहीबार अन्त्येष्टि गरिने पारिवारिक स्रोतले बताएको छ।
त्यसअघि परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले भारतीय विदेश मन्त्रालयसँग गरेको पहलपछि उनको शव नेपाल ल्याउने व्यवस्था भएको थियो।

मन्त्री राणाले नयाँ दिल्लीस्थित नेपाली राजदूत डा शङ्कर शर्मासँग आज बिहानै कुराकानी गरी यस विषयमा समन्वय गर्न निर्देशन दिएकी थिइन्। मन्त्री राणा र राजदूत शर्माले भारतीय विदेश मन्त्रालयसँग यस विषयमा समन्वय गरेका थिए।

सो समन्वयपछि बुधबार साँझ ५ बजे श्रीनगरबाट नयाँ दिल्ली र राति ९:३० बजे नयाँ दिल्लीबाट लखनउ हवाई जहाजमा तथा लखनउबाट नेपालको सीमासम्म एम्बुलेन्समा ल्याउने व्यवस्था गरिएको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *