शपथको मर्यादा तोड्दै प्रधानमन्त्री ओली
सन्तोष सिम्खडा
पद तथा गोपनीयताको शपथ केवल औपचारिकता होइन, यो सार्वजनिक जवाफदेहिता र संस्थागत मर्यादाको सर्वोच्च क्षण पनि हो। चाहे त्यो राष्ट्रपतिको होस्, प्रधानमन्त्रीको वा सामान्य कर्मचारीको शपथको क्षणमा देखिने आचरण र आसनले नेतृत्वको बौद्धिक परिपक्वता र संवैधानिक सम्मानबोध मापन हुन्छ।
तर दुर्भाग्य ! नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि एक पटक यो संवेदनशील क्षणको गरिमा मिच्ने काम गरेका छन्।
शनिबार बालुवाटारमा आयोजित योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयका पदाधिकारीको शपथ समारोहमा प्रधानमन्त्री ओलीको आसन असामान्य मात्र होइन, आपत्तिजनक थियो। विश्वविद्यालयका कुलपति र रजिस्ट्रारहरू उभिएर विधिपूर्वक शपथ ग्रहण गरिरहँदा प्रधानमन्त्री भने सिंगो शिष्टाचारलाई पाखुरामा हालेर गम्भीर समारोहलाई तमासाजस्तो बनाउँदै आरामले कुर्सीमा बसिरहेका थिए।
यो दृश्य केवल एउटा ‘फोटो’ थिएन, यो नेपालको नेतृत्वको गहिरो प्रतीकात्मक कमजोरी हो। के भाषिक औपचारिकता नै शिष्टाचार हो? के ‘तपाईं–हजुर’ भनिएन भनेर मिडियामाथि व्यंग्य गर्दै हिँड्नु नै गरिमा हो? शिष्टाचारको भाषिक व्याख्या दिने ओली स्वयंले बारम्बार सार्वजनिक कार्यक्रममा अशिष्ट व्यवहार प्रदर्शन गरिरहनु केवल विडम्बना मात्र होइन, लोकतान्त्रिक संस्कृतिमाथिको उपहास पनि हो।
शपथ लिने क्षणमा उभिनु सानो शैलीगत कुरा होइन, त्यो जिम्मेवारीप्रतिको सम्मान हो। गरिमा हो। नेतृत्वमा नम्रता हो। जनताप्रतिको आत्मिक उत्तरदायित्व हो। प्रधानमन्त्री ओली, तपाईं भाषाको सौन्दर्य र शुद्धताबारे चिन्तित हुनुहुन्छ भने कृपया आफ्नो व्यवहार पनि त्यसै अनुसार सुदृढ गर्नुहोस्। तपाईंको आसनले देखाएको अशिष्टताले योगमायाको आत्मालाई नै अपमान गरेको छ।
नेतृत्व केवल भाषणमा होइन, व्यवहारमा देखिनुपर्छ। आफूलाई ‘तिमी’ भनिएकामा चिढिने तपाईं, अब आफ्ना आसन, आचरण र आत्मबोधमा पनि ‘शिष्टाचार’लाई आत्मसात् गर्नुस्। यो देश अब शब्दमा होइन, आचरणमा नेतृत्व खोजिरहेको छ। भाषिक नखरा होइन, संवैधानिक सम्मान खोजिरहेको छ।
हालः टोकियो, जापान
Facebook Comment