पोखरा विमानस्थलको विषयमा विज्ञप्ति छपाउने चिनियाँ कम्पनीसँग स्पष्टीकरण सोध्न माग
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय उपसमितिको प्रतिवेदनमाथि चिनियाँ कम्पनीले जारी गरेको विज्ञप्ति गोरखापत्र दैनिकले छापेकोमा आपत्ति जनाएको छ। प्रतिनिधि सभा अन्तर्गत रहेको सार्वजनिक लेखा समितिको बुधबारको बैठकमा पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचार प्रकरणबारेको संसदीय उपसमितिले पेस गरेको प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै समितिका सदस्य एवं रास्वपाका सांसद मनिष झाले आपत्ति जनाएका हुन्।
उनले भने, ‘नेपाली जनताको करले सञ्चालित एउटा राष्ट्रिय दैनिकमा यो विज्ञप्ति निक्लिनु यसका प्रधान सम्पादक र सम्पादकलाई हामीले स्पष्टीकरण सोध्नुपर्छ। यो सार्वभौम सदनको एउटा सम्मानित समितिको बारेमा यस्तो चुनौतीपूर्ण भाषा प्रयोग गरेको विज्ञप्ति तिमीले किन निकाल्यौ? यसलाई के विज्ञप्ति प्रकाशित गर्ने पैसा मात्रै चाहिएको हो? हामीले जस्तोसुकै तस्बिर पठाइदिन सक्छौ भोलि? के छापिदिन्छ पैसा नै चाहिएको हो भने? त्यसमा करदाताको पैसाले सञ्चालित एउटा सञ्चार गृहले जिम्मेवार हुनुपर्दैन कि, यो कस्तो भाषा प्रयोग गरिएको छ, को प्रति लक्षित छ भनेर?’
सांसद झाले ठेकेदार चिनियाँ कम्पनी र गोरखापत्र संस्थान दुवैलाई स्पष्टीकरण सोध्न माग गरे। उनले भने, ‘यसमा मेरो गम्भीर र आपत्तिसहित म दुवैलाई तिमीले यस्तो भाषा प्रयोग गर्ने शक्ति कहाँबाट प्राप्त गर्यौ? नभए माननीय सभापति ज्यू भोलि गएर जुनसुकै देशको जुनसुकै ठेकेरदार कम्पनीले हामीलाई जस्तोसुकै गाली गरेर पनि जान सक्छन् है। आज हामी सचेत भइएन भने। त्यसको जिम्मेवारी अहिलेको यो समितिले लिनुपर्छ । त्यो बेला तिमी किन बोलेनौ भनेर आउँछ । त्यसैले म यसमा सबै जनाको ध्यानाकर्षण गराउन चाहन्छु।’
Facebook Comment