लेनदेनसम्बन्धी विवादित अडियो प्रकरणमा मुछिएपछि नाउपा अध्यक्ष रञ्जिताले भनिन्- मलाई फसाउन झुटा आरोपको खेती गरियो

संसदीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको विवादित अडियो प्रकरणमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ पनि मुछिएकी छन्। अडियोमा बोल्ने महिला रञ्जिता नै रहेको भन्दै उनीविरुद्ध टीका टीप्पणी हुन थालेको हो।

गत पुस २८ गते अध्यक्ष श्रेष्ठले सुजन लामा नामका व्यक्तिसँग मन्त्री क्वाटर पुगेर ‘७८ लाख रुपैयाँको डील’ गरेको आशंका गरिएको छ। अडियोमा सुनिएको कुराकानी अनुसार मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुखको सरुवा रोक्नका लागि ५३ लाख र भूमि आयोग कास्कीका जिल्ला अध्यक्ष नियुक्तिका लागि २५ लाख गरी ७८ लाख रुपैयाँ लेनदेन भएको आशंका गरिएको छ।

मन्त्री गुप्ताले नै पनि नाउपा अध्यक्ष श्रेष्ठले ल्याएका मान्छेले आफूलाई फसाउन पैसा छाडेर गएको दाबी गरेका छन्। लोकान्तर डटकमले सार्वजनिक गरेको एक रिपोर्टअनुसार पुस २८ गतगे विहानै श्रेष्ठ सुजन भन्ने व्यक्तिलाई लिएर मन्त्री क्वाटर पुगेकी थिइन्।

‘पूर्व भूमि व्यवस्था मन्त्री अघि-पछि पनि कर्मचारीको सरुवा/बढुवाका लागि आइरहन्थिन्। त्यस दिन पनि बिहान ६ बजे नै भेट्नुपर्‍यो भनेपछि समय दिएको मन्त्रीले बताउनुभएको छ। पूर्वमन्त्रीले भेट्नुपर्‍यो भनेपछि समय नदिने कुरा पनि भएन। बारम्बार सरुवाको कुरा लिएर आइरहने भएकाले मैले गर्न सक्दिनँ भनेपछि मन्त्री क्वार्टरमा पैसाको पोको छाडेर हिँडेको दाबी मन्त्रीले गर्नुभएको छ,’ लोकन्तरले स्रोतलाई उद्धृत गर्दै उल्लेख गरेको छ।

यस विषयमा सिधाकुरासँगको कुराकानीमा पनि अध्यक्ष श्रेष्ठले अडियोमा सुनेको व्यक्ति आफू हुनसक्ने तर लेनदेनमा आफ्नो कुनै संलग्नता नरहेको बताएकी छन्। अध्यक्ष श्रेष्ठले सोमबार आफूलाई फसाउन झुटा आरोपहरूको खेती सुरू भएको बताएकी छन्। उनले फेसबुकमा स्टाट्स लेखले आफूविरुद्ध भ्रमको खेती भइरहेको उल्लेख गरेकी हुन्।

रञ्जिताले आफ्नी आमा आइसीयुमा उपचाररत रहेकाले हाललाई आफू चुप लाग्ने बताएकी छन्। तर समयमा आएपछि प्रमाण र आत्मसम्मानका साथ जवाफ दिने उनले भनेकी छन्।

‘आमा आइसीयुमा हुनुहुन्छ। अनि म उहाँको सास र नाडी गन्न व्यस्त छु। त्यही बेला मलाई राजनीतिकरूपले फसाउने योजनासहित झुटा आरोपहरूको खेती सुरु गरिन्छ। कसैको नैतिकता यति खोक्रो भइसकेको रहेछ कि कसैकी आमाको शैयासमेत उनीहरूका लागि ‘राजनीतिक अवसर’ बन्न पुग्छ। स्पष्ट छु, मैले मौनता रोजें, किनकि मलाई हल्ला होइन, विवेकमा विश्वास छ। तर त्यो भूल नगर्नुहोस्। यो मौनता चिरस्थायी होइन। झुटो आरोपहरूको जवाफ म दिनेछु। न त भावुक भएर, न त डराएर, तर प्रमाणका साथ, राजनीतिक मूल्य र आत्मसम्मानका साथ। किनभने म राजनीति भन्नासाथ कुर्सी होइन, मूल्य र विवेक सम्झिन्छु। र, त्यो मैले मेरो आमाबाट सिकेकी हुँ, जसको आजको संघर्ष नै मेरो शक्ति हो,’ अध्यक्ष रञ्जिताले भनेकी छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *