रञ्जिता श्रेष्ठलाई अध्यक्षबाट हटाएको जानकारी आयोगमा

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई अनुशासन समितिले कारबाही गर्ने निर्णय गरेको छ। मंगलबार बसेको समितिको बैठकले उक्त निर्णय गरेको एक जना संस्थापक केन्द्रीय सदस्यले बताए।

आइतबार बहुमत केन्द्रीय सदस्यहरूको बैठकले अध्यक्ष श्रेष्ठ चौधरीलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। अध्यक्ष श्रेष्ठ चौधरीले स्पष्टीकरण नबुझाएपछि कारबाही गर्ने निर्णय गरिएको ती सदस्यले बताए। स्पष्टीकरण सोध्नुअघि पनि जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा तानिएकी अध्यक्ष श्रेष्ठ चौधरीलाई केन्द्रीय समिति बैठक बोलाउन बहुमत केन्द्रीय सदस्यहरूले ९ गते शुक्रबार २४ घण्टे ‘अल्टिमेटम’ दिएका थिए। तर अध्यक्ष श्रेष्ठ चौधरीले भने सुनुवाइ गरेकी थिइनन्।

पार्टी नेताहरूका अनुसार तीन सदस्यीय अनुशासन समितिमा रामलाल डगौरा थारु संयोजक, पुन्नबहादुर बुढा र सुनिता चौधरी सदस्य छन्। आइतबारकै बैठकले आज बुधबारका लागि राष्ट्रिय भेला आयोजना गर्ने निर्णय पनि गरेको थियो। सोही अनुसार यति बेला नागरिक उन्मुक्ति पार्टीको भेला चलिरहेको छ। बैठकमा संस्थापक केन्द्रीय सदस्य र निर्वाचित जनप्रतिनिधिहरू सहभागी छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *