कांग्रेसी थारूहरूलाई देउवाले भने- जातीय संकीर्णताले देशलाई अगाडि बढाउँदैन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थारूहरू सोझो भए पनि उनीहरूमाथि हुने अत्याचार सैह्य नहुने बताएका छन्। पार्टी कार्यालय सानेमा थारू विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै सभापति देउवाले यस्तो बताएका हुन्।

‘जस्तो अप्ठ्यारो अवस्था आए पनि थारूहरू देशप्रति सधैं इमान्दार रहन्छ। थारू समुदायको चरित्र नै लोकतान्त्रिक छ। थारूको संस्कृति, परम्परा नै त्यस्तै खालको छ। थारू समुदायको बरघर प्रथा पनि लोकतान्त्रिक छ। थारूहरू सामूहिकतामा बढी विश्वास गर्छ। तर, थारूहरू सोझा भएकै कारण उनीहरूमाथि हुने अत्याचार सैह्य हुने छैन,’ सभापति देउवाले भने।

कांग्रेस पार्टी थारू समुदायका लागि सधैं उदार हुँदै आएको उनले दाबी गरे। उनले थारू समुदायबाट स्वर्गीय परशुनारायण चौधरी कांग्रेसको महामन्त्री भइसकेको स्मरण गर्दै भावी प्रधानमन्त्रीको रूपमा समेत उनलाई हेरिएको बताए। ‘परशुनारायण चौधरीलाई कांग्रेसले महामन्त्रीको रूपमा चयन गरेको थियो। बीपीले परशुनारायणलाई भाबी प्रधानमन्त्रीको रूपमा पनि घोषणा गरेका थिए,’ उनले भने।

सभापति देउवाले किसान नेता राधाकृष्ण थारूप्रति पनि उच्च समान रहेको बताए। बर्दिया गएका बेला आफू उनको घरमा पनि जाने गरेको देउवाको भनाइ छ। त्यस्तै दाङका नेता डिल्ली चौधरीलाई कांग्रेसले पहिलो थारूको मुख्यमन्त्री पनि बनाएको बताए। पार्टीमा थारूलाई सहमहामन्त्रीको व्यवस्था नै विधानमा गरिएको समेत उनले बताए।

‘दिल्ली चौधरीलाई कांग्रेसले नै पहिलोपटक मुख्यमन्त्री बनाएको हो। थारूलाई सहमहामन्त्री बनाउने व्यवस्था पनि कांग्रेसले विधानमै गरेको छ। हामी सबै मिलेर पार्टीलाई बलियो बनाउनुपर्ने अवस्था छ,’ उनले भने।

सभापति देउवाले जातको आधारमा नभएर समावेशीताको आधारमा अगाडि बढ्न जरुरी रहेको बताए। ‘जातीय संकीर्णताले देशलाई अगाडि बढाउन सकिँदैन। कांग्रेसले थारू समुदायको उत्थान र विकास लागि सधैं तत्पर रहन्छ,’ उनले भने।




One thought on “कांग्रेसी थारूहरूलाई देउवाले भने- जातीय संकीर्णताले देशलाई अगाडि बढाउँदैन

  1. कांग्रेस निकट “नेपाल थारु संघ” निर्माण गरेर देउवाले स्वयम् जातीय संकीर्णता देखाएका छन् तर देउवा भन्दा बढी दोषी “नेपाल थारु संघ” का नेतृत्वकर्ताहरु छन् जो नितान्त व्यक्तिगत स्वार्थपूर्तिकालागि संगठन बनाएर थारु समुदायलाई कांग्रेस समक्ष सुम्पिने दुस्साहस गर्दै छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *