नाउपाको आयोजनामा कैलालीमा मोर्चाको भेला, रेशमले भने- पार्टीमा परिवारवाद छैन

सुनागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशमलाल चौधरीले पार्टीमा कुनै परिवारवाद नरहेको जिकिर गरेका छन्। पत्नी रञ्जिता श्रेष्ठलाई हटाएर बुबा लालवीर चौधरीलाई अध्यक्ष बनाएपछि चरम परिवारवादको आरोप खेपिरहेको बेला नाउपा संरक्षक रेशमलाल चौधरीले पार्टीमा कुनै परिवारवाद नरहेको जिकिर गरेका हुन्। उनले आफ्नो पार्टी आमजनताको आशु र पीडाबाट जन्मेको पार्टी रहेको दाबी गरे ।

शनिबार कैलालीको सुखडमा आयोजित संघीय लोकतान्त्रिक मोर्चाको वर्तमान राजनीतिक अवस्थाबारेको जनजागरण अभियानलाई सम्बोधन गर्दै उनले आफ्नो पार्टी उत्पीडित वर्गको उत्थानको लागि जन्मेको पार्टी भएको दाबी गरेका हुन्।

उनले भने, ‘जब साँझ हुन्छ तब फोन गरेर सोध्छन्, दादा पार्टीमा के भयो? यो के हुँदैछ। अनि म संघर्ष गरिरहेकै हुन्छु। कहिले हार्छु, कहिले जित्छु। कसैले भन्छन् यो पार्टी ओरागिल (सकियो)। अब चल्दैन, सिद्धिगयो। जब म प्रवासमा गए, तब झन् यो सकियो भन्थे। तर, नागरिक उन्मुक्ति पार्टी जिन्दावाद ।’

त्यस्तै उनले रुपन्देही-३ मा हुने उपनिर्वाचन संघीय लोकतान्त्रिक मोर्चाका लागि परीक्षा भएको बताए। उनले उक्त निर्वाचन आफ्नो मोर्चाले जसरी पनि जित्नुपर्ने बताए। थारू-मधेशी लगायत सबै उत्पीडितहरूको एकताको निम्ति मोर्चा गठन गर्नु परेको उनको भनाइ थियो। ‘यसपालि रुपन्देहीमा हुने उपनिर्वाचन मोर्चाको परीक्षा हो,’ चौधरीले भने, ‘यो निर्वाचन हामीले जसरी पनि जित्नुपर्ने ।’ उनले थारु भएकै कारण आफूहरूमाथि राज्यसत्ताबाट अन्याय र विभेद भएको गुनासो पनि गरे।

उनले अगाडि थपे, ‘नागरिक उन्मुक्ति पार्टी २०८४ मा बस्ती-बस्ती, टोल-टोलबाट विजयी जुलुस निकाल्ने छ। हरेक कार्यक्रममा पार्टी प्रवेश गर्नेहरूको लस्कर छ। यो पार्टीमा कुनै परिवारवाद छैन। रेशम-रञ्जिताको होइन। नागरिक उन्मुक्ति पार्टी हाम्रो पीडाको पार्टी हो। आँशुबाट जन्मेको पार्टी हो।’ नाउपाको ढकिया देखेर ठूला दल र सरकार डराएको पनि उनको भनाइ थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *