अष्ट्रेलियाका थारूहरूले मनाए माघी (फोटोसहित)
थारु समाज सिड्नीले छैठौँ पटक माघी पर्व भव्य रूपमा सम्पन्न गरेको छ। थारु समुदायको सबैभन्दा ठूलो सांस्कृतिक पर्व माघीको अवसरमा जनवरी १५ तारिख, माघ १ गते बिहीबार इन्द्रेणी फंक्सन सेन्टर, रकडेलमा विशेष कार्यक्रमको आयोजना गरी माघी पर्व हर्षोल्लासका साथ मनाइएको हो।
बेलुकी ५ बजे थारु परम्पराअनुसार पूजा–आजासहित कार्यक्रम सुरु गरिएको थियो । पूजाआजा पश्चात कार्यक्रम दुई चरणमा सञ्चालन गरिएको थियो ।थारु सोसाइटी सिडनीका सल्लाहकार रामेश्वर चौधरीको स्वागत मन्तव्यबाट औपचारिक रूपमा आरम्भ भएको थियो, पहिलो चरणमा औपचारिक कार्यक्रम र दोस्रो चरणमा सांस्कृतिक तथा सांगीतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।
औपचारिक कार्यक्रममा बोल्दै नेपालको दाङ देउखुरीबाट आउनुभएका कार्यक्रमका प्रमुख अतिथि खेम नारायण चौधरीले थारु समुदायको सभ्यता, इतिहास र पहिचानबारे प्रकाश पार्दै परदेशमा रहेर पनि आफ्नो भाषा, संस्कार र संस्कृतिको संरक्षण गर्नु अत्यन्तै सराहनीय कार्य भएको बताए । उनले यस्ता कार्यक्रमहरूले नयाँ पुस्तामा सांस्कृतिक चेतना हस्तान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे ।
त्यसैगरी थारु समाज सिड्नीका अध्यक्ष दिपनारायण चौधरीले माघी पर्व प्रत्येक वर्ष झन्–झन् उत्कृष्ट र भव्य बन्दै गएको बताए । उनले कार्यक्रम अपेक्षा गरेभन्दा पनि सफल भएको उल्लेख गर्दै कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने थारु समाजका सम्पूर्ण सदस्य, स्वयंसेवक, कलाकार तथा शुभेच्छुकहरूलाई धन्यवाद व्यक्त गरे । आगामी दिनहरूमा पनि नेपालकै झल्को दिने गरी थारु कला, संस्कृति र पहिचानलाई प्रवर्द्धन गर्ने कार्यक्रमहरू निरन्तर आयोजना गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।
कार्यक्रममा बोल्दै एन्जाका अध्यक्ष कृष्ण तिवारी, निम्फाका अध्यक्ष लक्ष्मण गुरुङ तथा अन्य विभिन्न अतिथिहरूले माघी पर्वको विशेषतामाथि प्रकाश पार्दै माघीको शुभकामना व्यक्त गरेका थिए। सहभागी अतिथिहरूले बहुसांस्कृतिक समाज अष्ट्रेलियामा थारु समुदायले आफ्नो मौलिक पहिचान जोगाउँदै आएकोमा प्रशंसा गर्दै माघी पर्वको शुभकामना व्यक्त गरेका थिए।कार्यक्रममा विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि, एनआरएनएका पदाधिकारी, समाजसेवी तथा विविध समुदायका अगुवाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रममा नेपालको पूर्वदेखि पश्चिमसम्मका थारु परिकार र मौलिक पहिरनहरूले सजिएर इन्द्रेणी फंक्सन सेन्टर रङ्गीन बनेको थियो । विभिन्न भूभागका थारु परिकार तथा पहिरनहरूको आकर्षक प्रदर्शनीले सहभागीहरूको ध्यान खिचेको थियो । कार्यक्रमको मुख्य आकर्षणका रूपमा रहेको क्याटवाकमा नवलपरासी, चितवन, दाङ, सप्तरी, मोरङ र कपिलवस्तु लगायतका जिल्लाका परम्परागत पहिरनमा सजिएका युवा–युवतीहरूले प्रस्तुति दिँदा नेपालका विभिन्न भूगोल र संस्कृतिको जीवन्त झल्को देखिएको थियो । क्याटवाकमा सहभागी युवायुवतीहरूको आत्मविश्वासपूर्ण प्रस्तुतिले दर्शकहरूलाई कुनै प्रतिस्पर्धात्मक कार्यक्रममा सहभागी भएको अनुभूति दिलाएको थियो । क्याटवाक चलिरहँदा इन्द्रेणी फंक्सन सेन्टर दर्शकहरूको तालीले गुञ्जिएको थियो ।
सांस्कृतिक कार्यक्रममा स्थानीय कलाकारहरूले थारु जातिका विविध पहिरनमा सजिएर लाठी नाच, झुमरा नाच, वाक नाच लगायतका मौलिक नृत्य प्रस्तुत गरेका थिए ।गायक सविन चौधरीको प्रस्तुती पनी साह्रै रोमान्चक थियो। ती प्रस्तुतिहरूले थारु समुदायको मौलिकता, संस्कार र परम्परालाई उजागर गर्नुका साथै कार्यक्रमलाई थप रौनक प्रदान गरेको थियो ।









Facebook Comment