धार्मिक सहिष्णुता र सम्मान कायम राख्न सरकारको अपिल
सरकारले धार्मिक सहिष्णुता र सम्मान कायम राख्न अपिल गरेको छ। गृहमन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै सबै धर्म, समुदायबीच धार्मिक सहिष्णुता र सम्मान कायम गर्न अपिल गरेको हो।
मन्त्रालयकी सहप्रवक्ता रमा आचार्य (सुवेदी) ले विज्ञप्ति जारी गर्दै विभिन्न धर्म, जातजाति, वर्ग, क्षेत्र वा सम्प्रदायबीचको सम्बन्धमा खलल पुऱ्याउने, हिंसात्मक कार्य गर्न दुरुत्साहन गर्ने, घृणा वा द्वेष उत्पन्न गर्ने कार्य कानूनद्वारा दण्डनीय रहेको स्मरण गराएकी छन्। विज्ञप्तिमा राजनीतिक दलका झण्डा जलाउने लगायत कानूनले निषेध गरेका क्रियाकलाप गरी सामाजिक सद्भाव र मर्यादामा आँच पुऱ्याउने जस्ता घटनाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।
‘रौतहट, दाङलगायत तराई एवम् मधेशको केही जिल्लाहरूमा धार्मिक सहिष्णुता तथा सद्भावमा गम्भीर असर पुर्याउने, धार्मिक एवम् सामाजिक सद्भाव खल्बलाउने, सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिमा आगजनी तथा तोडफोड गर्ने, राजनीतिक दलका झण्डा जलाउने लगायत कानूनले निषेध गरेका क्रियाकलाप गरी सामाजिक सद्भाव र मर्यादामा आँच पुऱ्याउने जस्ता घटनाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।’ उनले भने,‘विभिन्न धर्म, जातजाति, वर्ग, क्षेत्र वा सम्प्रदायबीचको सम्बन्धमा खलल पुऱ्याउने, हिंसात्मक कार्य गर्न दुरुत्साहन गर्ने, घृणा वा द्वेष उत्पन्न गर्ने कार्य कानूनद्वारा दण्डनीय रहेको छ । मन्त्रालयले यस्ता गतिविधिलाई सूक्ष्मढंगले निगरानी गरी कानूनद्वारा बर्जित र दण्डनीय कार्य गर्ने जो कोही व्यक्तिलाई कानूनी दायरामा ल्याई कारवाही समेत भइरहेको छ । तसर्थ त्यस्तो कार्य नगर्न नगराउनु हुनका साथै सबै धर्म, समुदायबीच धार्मिक सहिष्णुता र सम्मान कायम गर्न सम्बन्धित सबैमा सादर अनुरोध गरिन् ।’
रौतहटमा दुई समुदायको झडप भएपछि कर्फ्यू जारी गरिएको छ। तराई क्षेत्रमा हुनसक्ने गतिविधि प्रतिवेदन पेश गर्ने निर्देशन दिइएको गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता आनन्द काफ्लेले बताए। उनले भने,‘निर्वाचनमा तराई क्षेत्रमा हुनसक्ने सम्भावित गतिविधि र सुरक्षा संवेदनशीलतालाई विश्लेषण गरेर प्रतिवेदन तयार गरेर प्रतिवेदन पेश गर्नका लागि प्रहरी अतिरिक्त महानिरीक्षक उमा प्रसाद चतुर्वेदीलाई खटाउने निर्णय भएको छ।’
Facebook Comment