उज्यालो नेपाललाई जनताको आशा र भरोसाको केन्द्र बनाउँछौं : कुलमान घिसिङ
कुलमान घिसिङले उज्यालो नेपाल पार्टीलाई जनताको आशा र भरोसाको केन्द्र बनाउने लक्ष्य रहेको बताएका छन्। उज्यालो नेपाल पार्टीले संगठन विस्तार, नीति-दर्शन स्पष्टिकरण तथा कार्यकर्तालाई सशक्त बनाउने उद्देश्यका साथ लुम्बिनी प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला भव्य रूपमा सम्पन्न गरेको जनाएको छ। प्रदेशभरबाट आएका केन्द्र, जिल्ला तथा नगर तहका नेता-कार्यकर्ताको उल्लेखनीय सहभागिताले कार्यक्रम उत्साहजनक र प्रभावकारी बनेको आयोजकको भनाइ छ।
भेलाको सभाध्यक्षता पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश भेलाका संयोजक सिताराम थारुले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा अध्यक्ष घिसिङको उपस्थिति रहेको थियो। त्यसैगरी महासचिव धर्म बहादुर चौधरी विशिष्ट अतिथि र सचिव केदार खड्का अतिथिका रूपमा कार्यक्रममा सहभागी हुनुभएको थियो। कार्यक्रममा केन्द्रीय सदस्य, जिल्ला समितिका पदाधिकारी तथा विभिन्न नगर समितिका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रमको सुरुवात राष्ट्रिय गानबाट गरिएको थियो। त्यसपछि देशका लागि जीवन अर्पण गर्ने ज्ञात तथा अज्ञात शहीदहरूप्रति सम्मान प्रकट गर्दै मौनधारण गरिएको थियो।
कार्यक्रमको महत्वपूर्ण अंशका रूपमा सचिव खड्काद्वारा पार्टीको विधान, निर्वाचन प्रतिबद्धता तथा हालसम्म जारी गरिएका परिपत्रहरूको विस्तृत प्रस्तुति गरिएको थियो। उहाँले पार्टीको लक्ष्य, संगठन संरचना, कार्यपद्धति तथा आगामी राजनीतिक रणनीतिबारे स्पष्ट पार्दै कार्यकर्तालाई एकीकृत रूपमा अघि बढ्न आग्रह गर्नुभयो।
भेलामा लुम्बिनी प्रदेश समितिको गठन तथा नवनिर्वाचित पदाधिकारीहरूको शपथ ग्रहण कार्यक्रम पनि सम्पन्न गरिएको थियो। नवगठित समितिले प्रदेशस्तरमा पार्टीलाई थप सुदृढ र प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ।
त्यसपछि महासचिव चौधरी र अध्यक्ष घिसिङले अगुवा कार्यकर्तालाई प्रशिक्षण दिनुभएको थियो। प्रशिक्षणका क्रममा पार्टीको सिद्धान्त, जनतामुखी कार्यक्रम, संगठन विस्तारको रणनीति तथा नेतृत्व विकासका विषयमा विशेष जोड दिइएको थियो।
प्रमुख अतिथि घिसिङले आफ्नो सम्बोधनमा प्रत्येक नेता तथा कार्यकर्ताले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जनताको वास्तविक समस्यामा केन्द्रित भई काम गर्नुपर्नेमा जोड दिनुभयो। “सुशासन, समृद्धि र सामाजिक न्यायसहितको नयाँ नेपाल निर्माण गर्नु हाम्रो मुख्य उद्देश्य हो,” उहाँले भन्नुभयो।
उहाँले ऊर्जा क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै त्यसको प्रभाव शिक्षा, स्वास्थ्य लगायतका आधारभूत क्षेत्रमा सकारात्मक रूपमा पर्ने उल्लेख गर्नुभयो। ऊर्जा विकासबाट प्राप्त स्रोत र साधनलाई जनहितमा प्रयोग गर्दै शिक्षा र स्वास्थ्यजस्ता अत्यावश्यक सेवाहरू निःशुल्क उपलब्ध गराउने दीर्घकालीन लक्ष्य रहेको उहाँको भनाइ थियो।
कार्यक्रमको अन्त्यमा सभाध्यक्ष थारुले सहभागीलाई धन्यवाद दिँदै कार्यक्रमको औपचारिक समापन गर्नुभयो। उहाँले पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई विधान, नीति तथा प्रतिबद्धताभित्र रही जनताको घरदैलोमा पुगेर सेवा गर्न आग्रह गर्नुभयो।
समग्रमा, उक्त भेला उज्यालो नेपाल पार्टीका लागि संगठन सुदृढीकरण, कार्यकर्ता प्रशिक्षण र नीति स्पष्टिकरणका दृष्टिले महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। सहभागीहरूले आगामी दिनमा पार्टीलाई जनस्तरसम्म पुर्याउन थप सक्रिय हुने प्रतिबद्धता व्यक्त गरेका छन्।
Facebook Comment