सचिवालयमा कमजोर बन्दै ओली, चार उपाध्यक्षले नै मागे राजीनामा

नेकपा (एमाले)को सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागिएको छ। सचिवालयमा ओलीविरुद्ध शीर्ष नेताहरू नै उत्रिएको पहिलोपटक हो। बैठकमा भनाइ राख्ने क्रममा बहुमत उपाध्यक्षहरूले पार्टीको तल्लो तहमा नेतृत्वप्रति चरम निराशा छाएको भन्दै अध्यक्ष ओलीलाई विश्राम लिन र मार्गप्रशस्त गर्न आग्रह गरेका हुन्।

उपाध्यक्षहरू विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट र रघुजी पन्तले पार्टीको रूपान्तरण र पुस्तान्तरणको माग गरेका थिए भने अर्का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले भने अध्यक्ष ओलीको बचाउ गरेका थिए। एमालेको विधानमा पाँच जना उपाध्यक्ष रहने व्यवस्था छ।

बैठकमा अध्यक्ष ओलीले पार्टी संकटको बेला एकढिक्का हुनुपर्नेमा जोड दिँदै रूपान्तरणको विषय उठाएका उपाध्यक्षहरूसँग असन्तुष्टि जनाएपछि भनाभनसमेत भएको थियो। अध्यक्ष ओलीले अनुशासन उल्लंघन गर्ने र अराजक बन्नेहरूलाई कारबाही गर्ने चेतावनी दिएपछि उपाध्यक्षहरू थप आक्रोशित बनेका थिए। ‘नेतृत्वको रक्षा नगर्ने, पार्टी आन्दोलनको रक्षा नगर्नेहरूलाई केको जिम्मेवारी ?,’ अध्यक्ष ओलीको भनाइ थियो, ‘नेतृत्वको रक्षा गर्न नसकेकामा लिखित क्षमायाचना गरेपछि मात्रै अब जिम्मेवारी पाइन्छ, यस्तो बेलामा पुनर्गठन भनेर हिँड्नेहरूलाई अनुशासनको कारबाही हुन्छ, गरिन्छ।’

बैठकमा उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले अध्यक्ष ओलीलाई ‘पार्टी तपाईंको प्राइभेट कम्पनी हो ? ’ भन्दै प्रश्न गरेका थिए। अध्यक्ष ओलीले पार्टीको लाइनविपरीत जानेहरूलाई कार्यविभाजनमा जिम्मेवारी नदिने संकेत गरेपछि नेता गुरुङ प्रतिवादमा उत्रिएका हुन्। ‘एमाले तपाईंले मात्रै बनाएको पार्टी हो र ? एमाले तपाईंको प्राइभेट कम्पनी हो ? यो पार्टीमा हाम्रो योगदान, भूमिका छैन,’ उनको भनाइ थियो, ‘अरू साथीहरूको योगदान छैन ? ’




Leave a Reply

Your email address will not be published. Required fields are marked *