मोदी-लामिछाने भेट : नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ। भेटपछि प्रधानमन्त्री मोदीले लामिछानेसँग भेटघाट गर्न पाउँदा खुसी लागेको बताएका छन्। उनले साझा समृद्ध भविष्यका लागि मिलेर काम गर्ने लामिछानेको चाहनालाई आफूले स्वागत र पूर्ण समर्थन गर्ने उल्लेख गरेका छन्।
मोदीले नेपाल भारतको ‘नेबरहुड फर्स्ट’ नीतिअन्तर्गत प्राथमिक साझेदार रहेको उल्लेख गर्दै नयाँ सरकारसँग सहकार्य गर्दै दुई देशबीचको विशेष र बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्याउन भारत तत्पर रहेको बताएका छन्।
भेटपछि लामिछानेले पनि प्रधानमन्त्री मोदीसँग करिब एक घण्टा लामो र फलदायी संवाद भएको बताएका छन्। उनले नेपाल र भारतले विगतका सीमितताहरूलाई पार गर्दै विकास-कूटनीतिको नयाँ युगतर्फ अघि बढ्ने मोदीको दृष्टिकोणमा आफू सहमत रहेको उल्लेख गरेका छन्।
लामिछानेले साझा हित, आर्थिक समृद्धि र क्षेत्रीय सहकार्यलाई केन्द्रमा राखेर दुई देशबीचको सम्बन्धलाई अझ मजबुत बनाउने विषयमा छलफल भएको बताएका छन्।
उनका अनुसार नेपाल र भारतबीचको साझेदारीलाई नयाँ ढंगले अघि बढाउने तथा पारस्परिक विकास र समृद्धिका अवसरहरू विस्तार गर्ने विषयमा समेत कुराकानी भएको थियो।
Facebook Comment