अबदेखि प्रहरीलाई पनि १५-१५ दिनमा तलब

नेपाल प्रहरीले अबदेखि १५-१५ दिनमा तलब पाउने भएका छन्। प्रहरी प्रधान कार्यालयले मातहतका कार्यालयहरूलाई परिपत्र गर्दै आगामी आर्थिक वर्ष २०८३/८४ देखि उक्त व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो।

प्रहरी प्रधान कार्यालयले जारी गरेको पत्रअनुसार अर्थ मन्त्रालयको निर्णय तथा महालेखा नियन्त्रक कार्यालयको पत्राचारका आधारमा राष्ट्रसेवक कर्मचारीलाई अर्धमासिक रूपमा तलब-भत्ता भुक्तानी गर्ने व्यवस्था लागू गरिएको हो। यसअनुसार कर्मचारीहरूले एकैपटक मासिक तलब पाउने सट्टा प्रत्येक १५ दिनको अन्तरालमा तलब प्राप्त गर्नेछन्।

परिपत्रमा सम्बन्धित कार्यालयहरूलाई आवश्यक आर्थिक तथा प्रशासनिक व्यवस्था मिलाई नयाँ प्रणाली कार्यान्वयन गर्न भनिएको छ। नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखालाई समेत आवश्यक वित्तीय प्रणालीहरू सोहीअनुसार व्यवस्थापन गर्न निर्देशन दिइएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *