प्रधानमन्त्री बालेनले संसदको चरम अपमान गरे : अर्जुननरसिंह केसी
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री बालेन शाहले संसदको चरम अपमान गरेको आरोप लगाएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिबारे स्पष्टिकरण माग गरिँदै आएको भए पनि प्रधानमन्त्रीले त्यसलाई बेवास्ता गरेको बताए।
‘४४ दिनसम्म चलेका दुई अधिवेशनका क्रममा प्रधानमन्त्री जम्मा दुई/तीन घण्टा मात्र संसदमा उपस्थित हुनुभयो। सीमासम्बन्धी अभिव्यक्तिमा निरन्तर स्पष्टिकरण माग हुँदा पनि उहाँको यस्तो उपस्थितिले संसदको चरम अपमान भएको छ।’
नेता केसीले प्रधानमन्त्रीको कार्यशैलीलाई आत्मकेन्द्रित र अहंकारी भएको टिप्पणी गर्दै यसले हुकुमी शासनको झल्को दिएको बताए।
उनले अत्यधिक बहुमत र ठूलो जनअपेक्षासहित बनेको सरकारले नागरिकप्रति चरम उपेक्षा गरेको आरोप पनि लगाए। पछिल्लो समय आत्महत्या र आत्मदाहका घटना बढ्दै जानु कप्तानगञ्ज गोलीकाण्ड,सेना परिचालनको अवस्था,धर्म,सम्प्रदाय र संस्कृतिबीचको एकतामा देखिएको चुनौती,सहकारी तथा लघुवित्त पीडितका समस्या सरकारका लागि चुनौतिको विषय बनेको उनको भनाइ छ।
Facebook Comment