सरकार बनाउने र गिराउने विषयमा केन्द्रित हुनु सबैभन्दा ठूलो गल्ती भयो : प्रचण्ड

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूहरू सरकार बनाउने र गिराउने विषयमै केन्द्रित हुनु सबैभन्दा ठूलो गल्ती हुन पुगेको स्वीकार गरेका छन् । सोमबार २४ औं बोत्ले स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो स्वीकार गरेका हुन् ।

‘हामी प्रधानमन्त्री बनाउने, प्रधानमन्त्री फाल्ने, सरकार बनाउने, सरकार गिराउने, त्यसैमा सफलता देख्ने र त्यो नै यति भएपछि हुन्छ भन्याजस्तो गरी चल्यौं गल्ती त्यही नै भयो,’ प्रचण्डले भने, ‘हामी त त्यसरी सरकार बनाउने गिराउने कुरालाई सफलता र असफलताको रुपमा लियौं । हाम्रो वर्गसँग, मजदुर किसानसँग उत्पीडित समुदायसँगको सम्बन्ध विस्तारै कमजोर भयो । जीवन्त भएन ।’

केन्द्रमा आफूहरू यही कुरामा केन्द्रित हुँदा प्रदेश र स्थानीय तहमा पनि यस्तै प्रवृत्ति दोहोरिनु स्वभाविक भएको उनको भनाइ थियो ।

‘मन्त्री बन्ने र प्रधानमन्त्री बन्नेतिरै केन्द्रित भएको देखेपछि प्रदेशका नेताहरू पनि मन्त्री र मुख्यमन्त्री बन्नेमै केन्द्रित हुनु स्वभाविक नै भयो । हामी कम्युनिस्ट आदर्शबाट कहिँ न कहिँ विचलित भयौं । गल्ती त्यही नै भयो भन्ने मलाई लागेको छ,’ प्रचण्डले भने ।

नेताहरूको जीवनशैली देखेरै जनताले कम्युनिस्ट भनेर पत्याउन छाडेको उनको भनाइ थियो ।

‘नेताहरू सदरमुकाम र राजधानीमा बस्ने र उनीहरूको जीवनशैली हेर्दै जाँदा यी कम्युनिस्ट जस्ता छैनन् भन्ने कुरा विस्तारै महसुस गर्दै जाने स्थिति बन्यो,’ प्रचण्डले अघि भने, ‘हामी भने किताबमा लेखिएकै छ, दस्तावेजमा लेखिएकै छ भनेर सरकार बनाउने कुरामा लाग्यो ।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *