रोएको आवाज आएपछि माटोमुनिबाट ६ वर्षीया बालिकाको उद्धार

रसुवाको गोसाईकुण्ड गाउँपालिका-२ टिमुरेमा बाढी-पहिरो गएको दोस्रो दिन सशस्त्र प्रहरी बलको उद्धार टोलीले माटोमुनि पुरिएकी करिब ६ वर्षीया बालिकालाई सकुशल उद्धार गरेको छ।

शुक्रबार साँझ करिब ६:१५ बजे टिमुरे क्षेत्रमा खोज तथा उद्धारमा खटिएको सशस्त्र प्रहरीको टोलीले माटोमुनिबाट बालिका रोइरहेको आवाज सुनेपछि तत्काल खोजी थालेको थियो। त्यसक्रममा माटोमुनि पुरिएको अवस्थामा बालिकालाई फेला पारेर उद्धार गरिएको हो।

सीमा सुरक्षा चौकी टिमुरेबाट सप्रनिको कमाण्डमा खटिएको ६ जनाको टोलीले बालिकालाई उद्धार गरी चौकीमा ल्याएको हो। उद्धारका क्रममा बालिका गम्भीर अवस्थामा रहेकी र अचेत अवस्थामा फेला परेको जनाइएको छ।

चौकीमा ल्याएपछि बालिकालाई न्यानो बनाएर राखिएको छ। उनको अवस्था कमजोर रहेकाले थप उपचारका लागि हेलिकप्टरमार्फत उद्धार गर्ने पहल भइरहेको छ। तर, रातिको समय भएकाले तत्काल हेलिकप्टर उडान सम्भव हुन नसकेको बताइएको छ।

माटोमुनिबाट आएको बालिकाको रोएको आवाज सुनेर समयमै उद्धार गर्न सफल हुनु ले उद्धार टोलीको सतर्कता र खोजी कार्यको महत्त्व झनै देखाएको छ। बाढी-हिरो प्रभावित टिमुरे क्षेत्रमा सुरक्षाकर्मीहरूले जोखिमका बीच खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *