भाषण र लुगा मिलेन भन्नेलाई सुधनको जवाफ- योभन्दा ह्यान्सम हुन सक्दैनौं
गृहमन्त्री सुधन गुरुङले आफूहरू राजनीति सिक्न नभई राजनीति सिकाउन आएको बताएका छन्। जेनजी दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै गृहमन्त्री गुरुङले आफूहरूले युवा पुस्तालाई सेवाको राजनीति सिकाउने बताए।
‘हामी राजनीति सिकाउन आएका हौं, सिक्न होइन,’ उनले भने, ‘तपाईंहरूको राजनीतिले जनतालाई राज गर्न सिकायो। यो युवा पुस्ताको सरकार हो, हामीले सेवा गर्न सिकाउँछौं। यही हो राजनीति।’
उनले आफूहरू राजनीतिक संस्कार परिवर्तन गर्न आएको दाबी गरे। देशमा अब नागरिकमाथि गोली चलाउने अवस्था आउन नदिने प्रतिबद्धता व्यक्त गर्दै उनले भने, ‘अर्को गोली चल्न र चलाउनलाई अब यो देशमा कसैले हिम्मत गर्न सक्दैन। जबसम्म मेरो ज्यानमा प्राण छ, कसैलाई दुःख हुन दिन्न।’
उनले आफूहरू टीका लगाएर नभई दुई तिहाइ जनमत लिएर सरकारमा आएको दाबी गरे। ‘हामी टीका लगाएर आएको होइन। दुई तिहाइ जितेर आएका हौं,’ उनले भने, ‘तपाईंहरू टिभीमा हेर्नुहोला, देश विकास कसरी गर्छौं।’
गृहमन्त्री गुरुङले देशको भविष्य अब नयाँ पुस्ताले आफैं निर्माण गर्ने बताए। ‘हाम्रो भविष्य हामी आफैं कोर्नेछौं। अरूलाई कोर्न दिने छैनौं। यो हाम्रो पुस्ता हो। आफ्नो इतिहास हामी आफैं कोर्नेछौं,’ उनले भने।
मन्त्रीको कुर्सीलाई आफूले सत्ता र शक्तिको रूपमा नलिएको उनको भनाइ थियो। ‘मन्त्रीको कुर्सी मेरो लागि १५ हजारको मात्र हो। मलाई काँधमा जिम्मेवारी दिनुभएको छ। त्यो जिम्मेवारी पूरा गर्नेछु,’ उनले भने।
जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूलाई स्मरण गर्दै उनले आफूले मन्त्रीको कुर्सीमा व्यक्तिगत रूपमा आफूलाई नभई आन्दोलनमा ज्यान गुमाएका युवाका छोराछोरीलाई देख्ने बताए। ‘जसरी तपाईंका छोरा-छोरी काँधमा उठाएर लगेका थियौं। उहाँहरूको आत्मा मैभित्र छ भनेर सोच्नुस्,’ उनले भने, ‘त्यो कुर्सीमा मलाई नदेख्नुहोला। तपाईंकै छोरा-छोरीलाई देख्नुहोला।’
आफूमा सत्ता र शक्तिको घमण्ड नआउने दाबी गर्दै गुरुङले आफू युवाहरूको प्रतिविम्ब भएको बताए। भ्रष्टाचारविरुद्ध कठोर रूपमा प्रस्तुत हुने चेतावनी दिँदै उनले एक रुपैयाँ भ्रष्टाचार भएको प्रमाणित भए आफू जनताको पक्षमा लड्ने बताए।
‘इमान्दारीका साथ छाती चौडा राखेर भन्न चाहन्छु, एक रुपैयाँ भ्रष्टाचार गरेको मात्र थाहा पाएँ भने गृहमन्त्री तीन करोड जनताको तर्फबाट लड्नेवाला छ,’ उनले भने।
गुरुङले विगतका नेताहरूका भाषण र त्यसको परिणाम जनताले देखिसकेको भन्दै आफ्नो सरकारले परम्परागत शैलीमा काम नगर्ने बताए। ‘नेताहरूको चिल्लो-चिल्लो भाषण हाम्रा आमा-बुबाले सुनेका थिए, देखेका थिए। त्यसको रिजल्ट पनि हामीले देखेका छौं,’ उनले भने, ‘हामी पाँच बजेसम्ममात्र होइनौं। घडीको टिकटिक हेरेरमात्र बस्दैनौं।’
सरकार ढाल्न विभिन्न प्रयास भइरहेको दाबी गर्दै उनले सरकारविरुद्ध भइरहेका गतिविधिलाई जनताले हेरिरहेको बताए। ‘शरीर र लासमाथि राजनीति गरिरहेको तीन करोड जनताले हेरिराखेका छन्। उनीहरूले तिमीहरूलाई कहिल्यै माफ गर्नेवाला छैनन्,’ उनले भने।
आफ्नो बोली, भाषण र पहिरनलाई लिएर हुने आलोचनाप्रति पनि गुरुङले व्यंग्य गरे। ‘कतिपयले बोली मिठो र चिप्लो भएन भन्छन्। भाषण मिलेन भन्छन्। लुगा मिलेन भनेर भन्छन्,’ उनले भने, ‘योभन्दा ह्यान्सम हामी हुन सक्दैनौं।’
Facebook Comment