सीके राउतसँग खटपट भएर जनमत छोडे, अहिले बने उद्योग मन्त्री

सीके राउतको पार्टीबाट विद्रोह गरेर निस्किएका दीपककुमार साह उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बनेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले साहलाई उद्योग मन्त्रीमा नियुक्त गरेक हुन्। उनले आजै सपथ लिई पदभार ग्रहणसमेत गरेका छन्।

मन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि प्रधानमन्त्री बालेनले ग्यास अभावको समस्या हटाउने जिम्मा दीपकलाई सुम्पिएका हुन्। दीपक कुमार साह सुनसरी ४ बाट निर्वाचित भएका थिए।

ग्यास आपूर्ति सहज बनाउन नसकेपछि विवादमा परेकी यादवले बिहीबार प्रधानमन्त्री बालेनसमक्ष राजीनामा बुझाएकी थिइन्।

बुधबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादवको धम्कीपूर्ण अभिव्यक्तिले एलपी ग्यास उद्योगीहरू बिच्किएका थिए। संसदीय समितिको बैठकमा बोल्दै मन्त्री यादवले उद्योगी र कर्मचारीको मिलेमतोका कारण ग्यास क्षेत्रमा सुधार गर्न नसकिएको आरोप लगाएकी थिइन्।

काठमाडौं उपत्यकामा ग्यासको चरम हाहाकार मच्चिइरहँदा निगमको कागजमा ८७ हजारभन्दा बढी सिलिन्डर भित्रिएको तथ्यांक त देखिन्छ, तर सर्वसाधारण भने रित्तो सिलिन्डर बोकेर दिनभर डिपो धाउन बाध्य छन्। यही बेला कालोबजारी खुलेआम छ।

पदभार ग्रहण गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री साहले भने ग्यासको विषयमा छलफल गर्ने बताए। ‘ग्यासको विषयमा छलफल गर्छौं। जनतालाई जति आवश्यकता छ, त्यति दिनैपर्छ,’ उनले भने।

मन्त्री साहले मन्त्रालयमा विगतमा के-के काम भयो भन्ने विषयमा बुझ्न आवश्यक रहेको बताए। विगतको कुरा बुझेरै अघि बढ्ने उनको भनाइ छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *