१७४ जना यात्रुको ज्यान बचाएका भारतीय पाइलट स्मित मच्छरको संसारभरि प्रशंसा

दुबईबाट उडान नम्बर एफजेट-१०७३ (बोइङ ७३७ म्याक्स ८)ले इजरायलको तेल अभिभका लागि उडान भर्दा आकाश खुला र मौसम शान्त थियो। विमानमा चालक दलका सदस्यहरूसहित १७४ जना यात्रुहरू सवार थिए।

९,७५० घण्टाभन्दा बढी उडानको गहिरो अनुभव बोकेका भारतीय नागरिक पाइलट स्मित मच्छर ककपिटको मुख्य नियन्त्रणमा थिए भने उनीसँगै सह-पाइलटका रूपमा ओमानी नागरिक बसिरहेका थिए।

सबै कुरा सामान्य लयमै चलिरहेको थियो। विमान साउदी अरबको उत्तर-पश्चिमी आकाशमा ३४ हजार फिटको उचाइमा निरन्तर उडिरहेको थियो। तर कसैले कल्पनासम्म नगरेको एउटा भयानक र कहालीलाग्दो घटना ककपिटभित्रै घट्न पुग्यो।

उडान भरेको करिब दुई घण्टापछि, सह-पाइलट अचानक आफ्नो सिटबाट उठे र पाइलट स्मित मच्छरमाथि साङ्घातिक आक्रमण गरे। उनले आफूसँग ल्याएको धारिलो चक्कुले पाइलटको टाउको र हातमा अन्धाधुन्ध प्रहार गर्न थाले। क्षणभरमै ककपिटभित्र रगतको आहाल जम्यो।

आक्रमणकारी सह-पाइलटले पाइलटलाई पूर्ण रूपमा अचेत बनाएर वा मारेर विमानको नियन्त्रण आफ्नो हातमा लिने र इतिहासकै भयानक ९/११ जस्तै दुर्घटना गराउने मनसाय राखेको अनुमान गरिएको छ। उनले विमानको स्टेयरिङ (योके) लाई जबर्जस्ती तलतिर धकेले।

मात्र १ देखि २ मिनेटको छोटो समयभित्रै ३४ हजार फिटको उचाइमा रहेको विमान तीव्र गतिमा तल खस्न थाल्यो। ककपिटको प्रणालीले खतराको संकेत दिन थाल्यो र विमान सोझै १६ हजार ६ सय फिटसम्म तल झर्‍यो। अस्वाभाविक रूपमा विमान तल खसेपछि यात्रुहरूमा रुवाबासी र त्रास छायो।

टाउको र हातबाट भलभली रगत बगिरहेको, असह्य पीडा र अचेत हुन लागेको त्यो अति संवेदनशील क्षणमा पनि पाइलट स्मित मच्छरले आफ्नो सुझबुझ र धैर्यता गुमाएनन्। उनलाई थाहा थियो—यदि ककपिट भित्रैबाट बन्द रह्यो भने यो आततायीलाई कसैले रोक्न सक्ने छैन। आफू पूर्ण रूपमा अचेत हुनुभन्दा ठीक अघि, पाइलट मच्छरले अत्यन्तै चलाखीपूर्वक ककपिटको मुख्य ढोका अनलक गर्ने स्विच थिचिदिए।

त्यही समयमा ककपिटबाट आएको चिच्याहट र विमानको अस्वाभाविक स्थिति बुझेर विमानमा सवार फ्लाईदुबईका अन्य दुई पोजिसनिङ पाइलटहरू, उडान कर्मचारी (फ्लाइट एटेन्डेन्ट) र केही इजरायली यात्रुहरू ककपिटतर्फ दौडिए। ढोका पहिले नै अनलक भइसकेकाले उनीहरू सजिलै भित्र छिर्न सफल भए।

भित्र पुगेका यात्रु र क्रू सदस्यहरूले आक्रमणकारी सह-पाइलटलाई नियन्त्रणमा लिए भने सोही क्रममा विमानमा सवार एक इजरायली दन्तचिकित्सकले रक्ताम्मे भएर ढलेका पाइलट स्मितको तत्काल प्राथमिक उपचार गरी अत्यधिक रक्तस्राव हुनबाट बचाए।

यसैबीच सादा पोशाकमा सवार दुई पोजिसनिङ पाइलटहरूले ककपिट नियन्त्रणमा लिएर विमानबाट संकटकालीन संकेत कोड ‘७७००’ र अपहरणको संकेत गर्ने अन्तर्राष्ट्रिय कोड ‘७५००’ वायुसेवा नियन्त्रण कक्षमा पठाएका थिए। हाइज्याकको सूचना पाउनासाथ इजरायली वायुसेनाले आफ्ना फाइटर जेटहरू तत्काल परिचालन गर्‍यो र केही समयका लागि आफ्नो हवाई क्षेत्रसमेत पूर्ण रूपमा बन्द गर्‍यो।

पछि फाइटर जेटको विशेष निगरानीमा विमानलाई सादा पोशाकमा यात्रा गरिरहेका पोजिसनिङ पाइलटहरूले साउदी अरबको ताबुकस्थित ‘प्रिन्स सुल्तान बिन अब्दुलअजिज’ विमानस्थलमा सुरक्षित आपत्कालीन अवतरण गराएका थिए। विमानका पाङ्ग्राहरूले जमिन छुनेबित्तिकै १७४ जना यात्रुहरूले ताली बजाएर आफ्नो नयाँ जीवनको खुसी मनाए।

को हुन् १७४ स्मित मच्छर?

टाइम्स अफ इण्डियाका अनुसार स्मित मच्छर भारतको महाराष्ट्र राज्यस्थित मुम्बईको घाटकोपरका बासिन्दा हुन्। उनी भारतका एक अत्यन्त अनुभवी व्यावसायिक पाइलट हुन्।

मच्छरले आफ्नो उडान करिअर सन् २०११ मा स्पाइसजेटबाट सुरु गरेका थिए। त्यहाँ करिब ११ वर्ष काम गर्दा उनी सिनियर पाइलटको पदसम्म पुगेका थिए। सन् २०२० नोभेम्बरदेखि उनले ‘लाइन ट्रेनिङ पाइलट’को भूमिका समेत निभाएका थिए, जसको जिम्मेवारी नयाँ पाइलटहरूलाई तालिम दिने र उडान मापदण्ड पालना गराउने हुन्थ्यो।

सन् २०२२ जुनमा उनी ‘फ्लाई दुबई’मा डाइरेक्ट इन्ट्री पाइलटका रूपमा जोडिएका थिए। बोइङ ७३७–८०० तथा ७३७ म्याक्स विमानहरूमा उनीसँग करिब ९ हजार ७५० घण्टाको उडान अनुभव रहेको छ।

मच्छरकाे साहसिक कदमको विश्वभर प्रशंसा

यस भयावह घटनापछि साउदी अरबको ताबुक शहरस्थित अस्पतालमा उपचाररत पाइलट स्मित मच्छरको स्वास्थ्य अवस्था हाल स्थिर रहेको छ। साउदी अरबस्थित भारतीय दूतावासले सामाजिक सञ्जाल ‘एक्स’मार्फत पाइलट मच्छरको स्वास्थ्य अवस्था स्थिर रहेको र उपचारमा निरन्तर निगरानी गरिरहेको जनाएको छ।

आफ्नै ज्यान जोखिममा राखेर १७४ जना यात्रुको सुरक्षित अवतरण गराउन सफल भएका पाइलट स्मितको अभूतपूर्व साहस र सुझबुझको विश्वभर प्रशंसा भइरहेको छ। संकटपूर्ण घडीमा देखाएको यो अद्भूत हिम्मतका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु लगायतका प्रमुख विश्व नेताहरूले उनको खुला हृदयले प्रशंसा गरेका छन्।

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाइलट स्मितको धैर्यले ९/११ जस्तै अर्को ठूलो त्रासदी हुनबाट बचाएको बताउँदै उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

त्यस्तै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफ्नै ज्यान जोखिममा राखेर १७४ जना यात्रुको जीवन रक्षा गरेको भन्दै उनको बहादुरीलाई सलाम गरेका छन्, भने ट्रम्पले पाइलट मच्छरलाई ‘सच्चा हिरो’ को संज्ञा दिँदै उनको बुद्धिमत्ताको प्रशंसा गरेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *