एआईको बढ्दो विस्तारसँगै यसको पूर्वाधारमाथि नियन्त्रण जमाउँदै चीन

कृत्रिम बौद्धिकता (एआई) को तीव्र विस्तारसँगै विश्वभर विद्युत्, शीतलन प्रणाली, ब्याट्री, अप्टिकल नेटवर्क र विशेष प्रकारका औद्योगिक सामग्रीको माग बढिरहेको छ। विश्वकै उन्नत एआई प्रणाली सञ्चालन गर्न बनाइएका डेटा सेन्टरहरू पनि चिपमा मात्र निर्भर हुँदैनन्। तिनलाई सञ्चालन गर्न आवश्यक पर्ने विशाल औद्योगिक पूर्वाधारको भूमिका उत्तिकै महत्त्वपूर्ण हुन्छ। तर प्रविधिको विश्वव्यापी प्रतिस्पर्धामा प्रायः चिपलाई मात्र प्राथमिकता दिइने भएकाले यी सहायक उद्योगहरू ओझेलमा पर्ने गरेका छन्।

चीनले भने वर्षौंदेखि यिनै उद्योगमा आफ्नो बलियो उपस्थिति निर्माण गर्दै आएको छ। अहिले यो अग्रता अन्य देशले बेवास्ता गर्न नसक्ने अवस्थामा पुगेको छ।

नोभेम्बर २०२६ मा सार्वजनिक एक अध्ययनअनुसार पानीमुनि सञ्चालन हुने डेटा सेन्टरसम्बन्धी विश्वका करिब ८० प्रतिशत पेटेन्ट चिनियाँ कम्पनी तथा संस्थासँग छन्। सन् २००६ देखि सन् २०२६ को जुनसम्म दर्ता भएका १६८ वटा मुख्य पेटेन्टको अध्ययन गरिएको थियो। यसमा पानीमुनि शीतलन प्रणाली, संरचनाको मोड्युलर निर्माण र मर्मतसम्भारसम्बन्धी प्रविधि समेटिएका छन्।

यद्यपि, यो तथ्याङ्कले सञ्चालनमा रहेका पानीमुनिका डेटा सेन्टरमध्ये चीनको हिस्सा ८० प्रतिशत रहेको भने जनाउँदैन। यसले कम्प्युटिङ पूर्वाधारको नयाँ क्षेत्रमा चिनियाँ अनुसन्धान र प्रविधिको विकास कति तीव्र गतिमा भइरहेको छ भन्ने देखाउँछ।

यस विकासलाई पानीमुनिको कम्प्युटिङ प्रविधिमा भएको प्रगतिका रूपमा मात्रै हेर्नु पर्याप्त हुँदैन। डिजिटल अर्थतन्त्र सञ्चालनका लागि आवश्यक पर्ने धेरै प्रविधिमा चीनको उपस्थिति विस्तार भइरहेको छ। चिनियाँ कम्पनीहरूले ब्याट्री, अप्टिकल फाइबर, विद्युत् उपकरण तथा डेटा सेन्टरमा प्रयोग हुने विभिन्न सामग्री उत्पादन गर्छन्। त्यस्तै, महत्त्वपूर्ण खनिज पदार्थको प्रशोधनमा पनि चिनियाँ कम्पनीहरूको बलियो पकड छ।

विश्वकै अत्याधुनिक अर्धचालक (सेमिकन्डक्टर) उत्पादनमा चीनले अझै विभिन्न चुनौती सामना गरिरहेको छ। तर ती अर्धचालकलाई उपयोगी बनाउने अन्य प्रणाली र पूर्वाधारमा भने उसले आफ्नो प्रभाव विस्तार गरिरहेको छ। एआईको आगामी प्रतिस्पर्धामा अत्याधुनिक चिपमा निर्भरता जत्तिकै गम्भीर तर कम देखिने अर्को निर्भरता पनि सिर्जना हुन सक्ने जोखिम यसले बढाएको छ।

एआई सञ्चालनका लागि आवश्यक पूर्वाधार

विश्वव्यापी प्रविधि प्रतिस्पर्धाको बहस मुख्यतः अर्धचालकमा केन्द्रित हुँदै आएको छ। अमेरिकाले लगाएका निर्यात प्रतिबन्ध, चीनको स्वदेशी चिप उत्पादन विस्तार गर्ने प्रयास र ठूला एआई कम्पनीबीचको प्रतिस्पर्धाले उन्नत प्रोसेसरमाथिको नियन्त्रणले नै आगामी प्रविधि विकासको नेतृत्व निर्धारण गर्ने धारणा बलियो बनाएको छ। तर कम्प्युटिङ क्षमता विस्तार गर्न चिप मात्रै पर्याप्त हुँदैन।

डेटा सेन्टर सञ्चालनका लागि ठूलो परिमाणमा विद्युत् आवश्यक पर्छ। त्यस्तै, अत्याधुनिक शीतलन प्रणाली, वैकल्पिक विद्युत् आपूर्ति, विद्युतीय उपकरण र सर्भरबीच तीव्र गतिमा सूचना आदानप्रदान गर्ने सञ्जाल पनि चाहिन्छ। अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) ले समेत यी सहायक आपूर्ति शृङ्खलाको बढ्दो महत्त्व औँल्याउँदै आएको छ।

विश्वव्यापी सौर्य ऊर्जा उत्पादन क्षमताको करिब ८५ प्रतिशत चीनसँग छ। लिथियम आयन ब्याट्रीको आपूर्ति शृङ्खलामा पनि चीनको हिस्सा करिब ८० प्रतिशत छ। सौर्य प्यानलमा प्रयोग हुने फोटोभोल्टिक वेफर उत्पादनमा चीनको हिस्सा करिब ९५ प्रतिशत र ब्याट्रीको एनोड सामग्री उत्पादनमा करिब ९७ प्रतिशत रहेको छ।

विद्युतीय तथा डिजिटल पूर्वाधारका लागि आवश्यक कच्चा पदार्थको आपूर्तिमा पनि चीनको प्रभाव उत्तिकै बलियो छ। आईईएको विश्लेषणअनुसार ग्रेफाइट, दुर्लभ खनिज, लिथियम र कोबाल्टजस्ता महत्त्वपूर्ण खनिजको प्रशोधनमा चीनको अग्रणी स्थान छ। सर्भर, अप्टिकल फाइबर र उन्नत विद्युतीय उपकरणमा प्रयोग हुने उच्च शुद्धताको सिलिकन तथा ग्यालियम प्रशोधनमा पनि चीनको उल्लेख्य हिस्सा छ।

यी सबै औद्योगिक उपलब्धि एकअर्कासँग जोडिएका छन्। ब्याट्री उत्पादनले ऊर्जा भण्डारणमा सहयोग गर्छ भने विद्युतीय उपकरणले ठूला कम्प्युटिङ केन्द्र सञ्चालन गर्न सम्भव बनाउँछन्। त्यस्तै, प्रशोधित कच्चा पदार्थको सहज उपलब्धताले समग्र उत्पादन प्रणालीलाई निरन्तरता दिन्छ। यसरी चीनले एआई पूर्वाधारको आपूर्ति शृङ्खलाका विभिन्न महत्त्वपूर्ण क्षेत्रलाई एउटै औद्योगिक अर्थतन्त्रभित्र विकास गरेको छ।

आपूर्ति शृङ्खलाका कम चर्चित क्षेत्रमा चीनको पकड

अप्टिकल फाइबर यसको एउटा उदाहरण हो। एआई कम्प्युटिङको विस्तारसँगै प्रोसेसर र सर्भरबीच तीव्र गतिमा सूचना आदानप्रदान गर्नुपर्ने आवश्यकता बढिरहेको छ। विशेषगरी ठूला र जटिल डेटा सेन्टरमा अप्टिकल नेटवर्क अत्यावश्यक बन्दै गएको छ।

यी प्रणालीबाट उत्पन्न हुने ठूलो परिमाणको तथ्याङ्क एक स्थानबाट अर्को स्थानमा पुर्‍याउन अप्टिकल नेटवर्कको महत्त्वपूर्ण भूमिका हुन्छ।

चीन यो उद्योगको प्रमुख उत्पादन केन्द्रका रूपमा स्थापित भइसकेको छ। सन् २०२५ मा ह्वाताई सेक्युरिटिजले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विश्वव्यापी अप्टिकल प्रिफर्म उत्पादनमा चीनको हिस्सा ५९ प्रतिशत, अप्टिकल फाइबर उत्पादनमा ५७ प्रतिशत र अप्टिकल केबल उत्पादनमा ४७ प्रतिशत थियो।

यसले चिनियाँ उत्पादकहरू सस्तो सामग्री आपूर्ति गर्नेमा मात्रै सीमित नरहेको देखाउँछ। उनीहरू विश्वव्यापी दूरसञ्चार तथा कम्प्युटिङ पूर्वाधारलाई आवश्यक पर्ने उत्पादन शृङ्खलाका महत्त्वपूर्ण हिस्सेदार बनिसकेका छन्।

विद्युत् उपकरण अर्को यस्तो क्षेत्र हो, जहाँ चीनको उत्पादन क्षमताले व्यावसायिक महत्त्व हासिल गरिरहेको छ। काइक्सिन ग्लोबलका अनुसार सन् २०२५ मा चीनबाट विद्युत् उपकरणको निर्यात ३७ अर्ब ४० करोड अमेरिकी डलर पुगेको थियो। यो अघिल्लो वर्षको तुलनामा २६ प्रतिशत बढी हो।

देशहरूले डेटा सेन्टरको क्षमता विस्तार गर्दै भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न खोजिरहेका बेला ट्रान्सफर्मर, टर्बाइन र अन्य विद्युतीय प्रणालीको माग बढिरहेको छ।

उन्नत प्रोसेसरको तुलनामा यी क्षेत्रले कम चर्चा पाउने गरेका छन्। तर ट्रान्सफर्मर, ब्याट्री वा विशेष नेटवर्क उपकरणको अभावले पनि डेटा सेन्टर निर्माणमा ढिलाइ गराउन सक्छ। चिपको अभावले जस्तै यी सामग्रीको अभावले पनि प्रविधि विस्तारमा अवरोध सिर्जना गर्न सक्छ। चीनले यिनै क्षेत्रमा आफ्ना उत्पादकहरूको बलियो उपस्थिति बनाइरहेको छ।

डिजिटल सञ्जालमा समेत सुरक्षा चुनौती

चीनको प्रभाव उत्पादन उद्योगबाट डिजिटल पूर्वाधारसम्म विस्तार हुँदै जाँदा सुरक्षा चासो पनि बढिरहेको छ। समुद्रमुनि बिछ्याइएका केबलमार्फत विश्वको अधिकांश अन्तर्राष्ट्रिय तथ्याङ्क आदानप्रदान हुन्छ। यिनै केबलले वित्तीय बजार, सरकार, क्लाउड सेवा प्रदायक र दूरसञ्चार सञ्जाललाई जोड्छन्। त्यसैले यस्ता केबलको निर्माण र मर्मतसम्भार केवल व्यावसायिक दूरसञ्चारको विषय नभई रणनीतिक महत्त्वको विषय पनि हो।

चीनको एचएमएन टेक्नोलोजिज यस उद्योगमा महत्त्वपूर्ण प्रतिस्पर्धीका रूपमा उदाएको छ। कार्नेगी इन्डोमेन्ट फर इन्टरनेसनल पिसको अनुसन्धानअनुसार सन् २०२० देखि २०२४ सम्म निर्माण भएका नयाँ समुद्रमुनिका केबल प्रणालीमध्ये करिब १० प्रतिशतमा यस कम्पनीले आपूर्ति गरेको थियो।

अल्काटेल सबमरिन नेटवर्क्स र सबकमजस्ता स्थापित कम्पनीभन्दा चीन अझै पछाडि रहे पनि यस क्षेत्रमा उसको बढ्दो सहभागिताले पश्चिमी सरकारहरूको ध्यान तानेको छ।

चिनियाँ कम्पनीले निर्माण गरेको केबलबाट प्रवाह हुने सूचना स्वतः जोखिममा पर्छ भन्ने यसको अर्थ होइन। तर महत्त्वपूर्ण सञ्जालको निर्माण, मर्मत र सञ्चालनमा संलग्न कम्पनीले रणनीतिक रूपमा संवेदनशील पूर्वाधारसम्म पहुँच पाउन सक्ने सम्भावनाले सुरक्षा चासो बढाउँछ।

त्यसैले विभिन्न देशले केबलको लागत र प्राविधिक गुणस्तर मात्रै नभई त्यसको निर्माण कसले गर्छ, मर्मतसम्भार कसले गर्छ र सम्बन्धित कम्पनीको पहुँच कस्तो रहन्छ भन्ने विषयलाई पनि महत्त्व दिन थालेका छन्।

रणनीतिक जोखिम चीनको नियतमा मात्रै निर्भर हुँदैन। कुनै एक देश धेरै आवश्यक आपूर्ति शृङ्खलामा अपरिहार्य बन्दै जाँदा उसले आर्थिक दबाब सिर्जना गर्ने क्षमता पनि हासिल गर्छ। ग्यालियम, जर्मेनियम, ग्रेफाइट र अन्य रणनीतिक खनिजको निर्यातमा चीनले लगाएका प्रतिबन्धले महत्त्वपूर्ण कच्चा पदार्थमाथिको नियन्त्रणलाई भू–राजनीतिक विवादको हिस्सा बनाउन सकिने देखाइसकेको छ।

एआई पूर्वाधारमा पनि यस्तै निर्भरता सिर्जना हुन सक्छ। अन्य देशले चीनमाथि निर्भर रहन चाहेर होइन, वैकल्पिक आपूर्तिकर्ता महँगा हुनु, पर्याप्त विकसित नहुनु वा बढ्दो माग धान्न नसक्नुका कारण चिनियाँ कम्पनीमा निर्भर हुनुपर्ने अवस्था आउन सक्छ।

कम्प्युटिङ पूर्वाधार जति तीव्र गतिमा विस्तार हुँदै जान्छ, चिनियाँ आपूर्तिकर्तालाई विस्थापित गर्दा लगानी र प्रविधि विस्तारमा अवरोध सिर्जना हुने जोखिम पनि त्यति नै बढ्दै जान्छ।

त्यसैले चीनको प्रविधिगत उदयबारेको बहसलाई परम्परागत अर्धचालक प्रतिस्पर्धामा मात्रै सीमित राख्नु हुँदैन। डिजिटल प्रविधिको आगामी प्रतिस्पर्धा कुन देशले उपकरण उत्पादन गर्छ, कच्चा पदार्थ प्रशोधन गर्छ र कम्प्युटिङ प्रणाली सञ्चालन गर्ने सञ्जालको मर्मतसम्भार गर्छ भन्ने कुराले पनि निर्धारण गर्नेछ।

चीनले यी आधारभूत पूर्वाधारको महत्त्व पहिल्यै बुझेर विभिन्न क्षेत्रमा आफ्नो बलियो औद्योगिक क्षमता निर्माण गरिसकेको छ। अहिले अन्य देशले पनि एआईको प्रतिस्पर्धामा अघि बढ्न अझ उन्नत चिप वा मोडल विकास गरेर मात्रै नपुग्ने महसुस गर्न थालेका छन्। डिजिटल अर्थतन्त्र निर्भर रहेको औद्योगिक आधारसमेत पुनर्निर्माण गर्नुपर्ने चुनौती उनीहरूसामु छ। चीनका प्रतिस्पर्धी देशका लागि सबैभन्दा ठूलो जोखिम भनेको निर्भरता राष्ट्रिय सुरक्षाको गम्भीर चिन्ताको विषय बनेर देखिँदासम्म त्यसबाट बाहिर निस्कन निकै महँगो र कठिन भइसक्ने सम्भावना हो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *