बिना सहमति आदिवासी जनजातिका परियोजना सञ्चालन नगर्न चेतावनी

आदिवासी जनजाति समुदायले आफ्नो सहमति बिना कुनै पनि परियोजना सञ्चालन नगर्न चेतावनी दिएको छ।

आदिवासी जनजाति आयोग, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, नेपाल आदिवासी जनजाति महासंघलगायतका संघसंस्थाहरूले बिहीबार काठमाडौँमा संयुक्त पत्रकार सम्मेलन गरी ‘आदिवासी जनजाति समुदायको स्वतन्त्र, पूर्वसुसूचित सहमति (एफपिक) कार्यान्वयन राष्ट्रिय निर्देशिका’ सार्वजनिक गर्दै उक्त चेतावनी दिएका हुन्। आदिवासी जनजाति समुदायलाई पुऱ्याउने फाइदा र बेफाइदाबारे छलफल गरेर मात्रै कुनै पनि परियोजना र कार्यक्रम सञ्चालन गर्न आफूहरूको अनुमति लिनुपर्ने निष्कर्षमा पुगिएको आयोगका अध्यक्ष रामबहादुर थापामगरले बताए।

उनले आदिवासी जनजाति क्षेत्रका विज्ञहरू आदिवासी जनजाति नै हुनुपर्ने भएकाले उनीहरूको सहमतिविना कुनै पनि परियोजना सञ्चालन गर्न उपयुक्त नहुने उल्लेख गरे। परियोजना सञ्चालन गर्नुअघि सम्बन्धित संघसंस्थाहरूको अनुमति लिन सबैलाई सचेत गराइएको उनको भनाइ छ। अध्यक्ष थापामगरले सरकार संलग्न रहेको परियोजनामा समेत सरकार, लगानीकर्ता र स्थानीय समुदायबीच त्रिपक्षीय करार हुनुपर्ने स्पष्ट पारे।

आदिवासी जनजाति समुदायलाई असर पार्ने खालका कुनै पनि परियोजना वा क्रियाकलाप जुनसुकै बेला स्थगन गर्नुपर्ने समेत आदिवासी संघसंस्थाको निष्कर्ष छ। संविधानमा व्यवस्था गरिएको आदिवासी जनसमुदायको अधिकार सुनिश्चित गर्न पनि उक्त निर्देशिका सार्वजनिक गर्नुपरेको सम्बन्धित पक्षको दाबी छ।

यो निर्देशिका सम्बन्धित समुदाय र विज्ञहरूले दिएका सुझावका आधारमा तयार पारिएको आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले जनाएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *