राष्ट्रपतिज्यू, नयाँ प्रधानमन्त्री दिएर निकास दिनुस् : पौडेल
पोखरा- नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले राष्ट्रपति रामवरण यादवले देशलाई अब नयाँ प्रधानमन्त्री दिएर निकास दिनुपर्ने बेला आएको बताएका छन्। नेपाल निजामती कर्मचारी युनियन पश्चिमाञ्चल क्षेत्रीय भेलाको आज बिहान पोखरामा उद्घाटन गर्दै उनले संसदीय प्रणालीको मान्यताअनुरुप राष्ट्रपतिले निर्णय गर्नुभयो भने कसैले पनि बोल्ने ठाउँ रहँदैन भने।
कसैले पनि बोल्ने ठाउँ नराखीकन राष्ट्रपतिका विशेषज्ञहरुले छलफल गरी सरसल्लाह दिनुपर्ने बेला आएको धारणा राख्दै उपसभापति पौडेलले अहिले संसद् नभएको बेला राष्ट्रपति मात्रै देशको एउटा आशाको केन्द्र रहेको जिकिर गरे।
संविधानको संरक्षक भन्नु नै राष्ट्रको संरक्षक हो भन्दै उनले राष्ट्र अस्तव्यस्त भएको बेला संविधानको संरक्षक भनेर संविधानको पुस्तक पूजा गरेर बस्न उचित नहुने विचार व्यक्त गरे।
संविधान सभा विघटन गर्न हतार भयो तर प्रधानमन्त्री बाबुराम भट्टराई हटाउन कसैको पनि हतार गरेनन् भन्दै उपसभापति पौडेलले संसद् छँदै प्रधानमन्त्री बाबुराम भट्टराईलाई हटाउन सक्नुपर्दथ्यो तर केहीको असहयोगले हटाउन नसकिएकामा गुनासो पोखे।
नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु बद्री पाण्डे र कमला पन्तले कर्मचारीहरु राष्ट्र र जनताको सेवामा कटिबद्ध हुन आग्रह गरे।
युनियनका क्षेत्रीय समन्वय समितिका अध्यक्ष विष्णुबहादुर रायमाझीको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाली कांग्रेस कास्कीका सभापति यज्ञबहादुर थापा, युनियनका जिल्ला अध्यक्ष रामजीप्रसाद कोइरालालगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो। रासस
Facebook Comment