नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा
एसिसी महिला क्रिकेट च्याम्पियनसिप अन्तर्गत हङकङले दिएको ५४ रन पछ्याउने क्रममा नेपालका तीन विकेट सुरुमै झरे पनि सरिता मगर र नेरी थापाले सम्हालिएर ब्याटिङ गरेपछि नेपालले प्रतियोगितामा लगातार चौथो विजय हात पारेको छ। यो जितसँगै नेपाल समूह विजेता भएर सेमिफाइनलमा पुगेको छ। सरिता १४ रन बनाएर आउट हुँदा नेपाललाई विजयका लागि नौ ओभरमा थप १४ रनमात्रै आवश्यक थियो जसलाई नेरी थापा र रुबिना क्षेत्रीले १८ औँ ओभरमा पूरा गरिन्। नेरीले अविजित २३ रन बनाइन् भने रुबिनाले सात।
यसअघि प्रारम्भिक ब्याट्सवुमेन मधु थापा र सीता मगर खातै नखोली आउट भएकी थिइन्। त्यसैगरी रोशनी बोहरा एक रनमै आउट भइन्। सीता रन आउट भएकी थिइन्। हङकङ पनि सेमिफाइनलमा प्रवेश गरिसकेको टिम हो। उसको प्रतियोगितामा यो पहिलो हार थियो। नेपालले बुधबार सेमिफाइनलमा चीन वा थाइल्यान्डसँग खेल्नेछ।
Facebook Comment