चिलगाडीबाट उत्रिन नपाउँदै मेरो अध्यक्ष पद त गइसकेछ : रेशम चौधरी

नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले पार्टीले भव्य रूपमा महाधिवेशन गरे पनि निर्वाचन आयोगले स्वीकृत नगरेकोमा असन्तुष्टि जनाएका छन् । आइतबार नेसपा (नयाँ शक्ति) को महाधिवेशनको उद्घाटन सत्रमा उनले सत्तासँग कुरा नमिल्दा आफ्नो अध्यक्ष पद नै गएको बताए ।
‘महाधिवेशन गर्नेको पनि स्वीकृत नगर्ने चलन छ । एक लाख ३९ हजार जनालाई भात खुवायौँ टीकापुरमा । नाउपाले महाधिवेशन गर्यो । एक-एक मिनेट गर्दा पनि रातिको १० बज्यो,’ उनले भने, ‘पाँच-पाँच जना सांसद लिएर निर्वाचन आयोगमा अद्यावधिका लागि पुग्यौँ । आयोगका पदाधिकारीसँग कति समय लाग्छ भनेर सोध्यौँ । उहाँले पाँच महिना लाग्छ भन्नुभयो । सत्तासँग कुरा मिलेन । भोलि चिलगाडीबाट ओर्लिँदा नओर्लिँदै मेरो अध्यक्ष पद त गइसकेछ ।’
उनले मुलुकमा दुई दलीय व्यवस्था सुरु गरेर एकात्मक शासन व्यवस्था सुरुवात गर्ने प्रयास भइरहेको बताए। उक्त जालो च्यात्न जरुरी रहेको र यस्तो व्यवस्था स्वीकार्य नहुने उनले चेतानी दिए। नयाँ शक्तिहरु लोकतन्त्रको गहना भएको उनका भनाइ छ।
उनले भने, ‘आजभोलि त दुई दलीय मात्र भन्छन्। दुई दलीय भन्नेलाई इतिहास के हो थाहै छैन। हामी त जान्छौँ। अमेरिकामा दुई दल मात्रै छन् त? भारतमा दुई दल मात्रै छन्? हामी त लोकतन्त्रका सुन्दर गहना हौँ। यिनीहरुले बोल्नै दिँदैनन्। अहिले हामी बोल्न जान्नेलाई हटाएर दुई दल मात्रै भन्दैछन्। साच्चिकै एकात्मक शासन व्यवस्थाको सुरुवात गर्ने प्रयत्न हुँदै छ। यो जालो च्यात्नुपर्छ।’
उनले डा. सीके राउत नेतृत्वको जनमत पार्टी र आफूहरूको पार्टीबीचको सकारात्मक सन्देश चाँडै सुन्न पाइने बताए। ‘जनमत पार्टी र हाम्रो पार्टीबीचको सकारात्मक सन्देश चाँडै पाउनु हुनेछ,’ उनले भने। चौधरीले जनमतसँगको एकता प्रक्रिया अगाडि बढिसकेकाले अरू दलहरूलाई पनि एकताको निम्ति आह्वान गरे। नेसपा, विवेकशील साझालगायत दलहरूले वैकल्पिक आवाज उठाइरहेका पार्टीहरूसँग एकता गरेर जान सकिने पनि उनले बताए।
Facebook Comment