डा. गोपाल दहितले प्रस्तुत गरे गरिबलाई धनी बनाउने प्रस्ताव, १० वर्षपछि कम्युनिस्ट पार्टी धारासायी बन्ने आकलन

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं विपन्न उत्थान समन्वय विभागका संयोजक डा. गोपाल दहितले ‘गरिबलाई धनी बनाउने’ लक्ष्य बोकेको प्रतिवेदन प्रस्तुत गरेका छन्। कांग्रेस सभापति, उपसभापति, महामन्त्री, पदाधिकारीलगायतको उपस्थितमा मंगलबार उनले महत्त्वपूर्ण प्रस्तावसहितको प्रतिवेदन प्रस्तुत गरेका हुन्।
डा. दहितले आगामी दस वर्षको ‘भिजनेरी प्लान’समेत प्रस्तुत गरे। उनले आगामी १० वर्षमा सबै नागरिक शिक्षित बनाउनुपर्ने, युवा पुस्ताले कम्प्युटर चलाउन सक्नुपर्ने र इन्टरनेटको पहुँचमा पुग्नुको साथै प्रविधिमैत्री बन्नुपर्ने प्रतिवेदनमा उल्लेख गरेका छन्। त्यस्तै सबै नागरिकको बैंकमा खाता खोलिसक्ने र प्यान नम्बरसमेत लिइसक्ने उनले उल्लेख गरेका छन्।
उनले आगामी दस वर्षमा कम्युनिस्ट विचारधारा बोकेका राजनीतिक पार्टी धरासायी भइसक्ने र उनीहरूको विचार समाजवाद र पुँजीवाद उन्मुक भइसकेको हुने प्रतिवेदनमा उल्लेख गरेका छन्।
त्यस्तै आगामी १५ वर्षमा वयस्क सबै नागरिक स्वरोजगारी, सरकारी वा नीति क्षेत्रको रोजगार हुने र बेरोजगार कोही पनि रहन नहुने उल्लेख गरिएको छ। त्यसका लागि विपन्न पहिचान, उत्थान र विकास प्राधिकरण गठन गर्न उनले पार्टीलाई प्रस्ताव गरेका छन्।
५६ पृष्ठ लामो प्रतिवेदन उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई हस्तान्तरणसमेत गरे। डा. दहितको उक्त प्रतिवेदन उत्कृष्ट रहेको सभापति देउवा, महामन्त्री गगनकुमार थापा, पूर्व उपसभापति विजय गच्छदारले तारिफ गरेका थिए। गच्छदारले दहितलाई आफू सँगसँगै कांग्रेससम्म यात्रा गराएकोमा गौरव पनि गरेका थिए।
Facebook Comment