जानकी गाउँपालिकालाई ‘थारु लोककला हब’ बनाउने घोषणा

थारु समुदायको मौलिक पहिचान, संस्कृति र परम्परालाई संरक्षण तथा प्रवर्द्धन गर्न जानकी गाउँपालिकाले आगामी वर्षका लागि विशेष कार्यक्रमसहितको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। गाउँपालिकाले ‘थारु लोककला हब’ निर्माणको योजना अघि सारेको छ, जसअनुसार थारु संस्कृति सम्वर्द्धनका विविध कार्यक्रम सञ्चालन गरिनेछ।

गाउँपालिकाले नेपाल कला प्रज्ञा प्रतिष्ठान तथा अन्य सरोकारवाला निकायहरूसँगको समन्वयमा थारु लोककला, भेषभूषा, परिकार, परम्परा र परिपाटीका सम्बन्धमा आवश्यक तालिम, गोष्ठी र सांस्कृतिक कार्यक्रम आयोजना गर्नेछ।

थारु समुदायको मौलिक परम्परालाई जीवन्त राख्न प्रत्येक वडामा ‘बरघर भवन’ निर्माणको पहल गरिनेछ। यी भवन परिसरमा सार्वजनिक सभा हल र शौचालयसमेत निर्माण गरिने जनाइएको छ। बरघर प्रथा थारु समुदायको परामर्शमूलक सामाजिक संस्था हो, जसको पुनःस्थापना र संस्थागत विकासले थारु समुदायमा सामाजिक एकता र सांस्कृतिक पुनर्जागरणमा टेवा पुर्‍याउने विश्वास लिइएको छ।

गाउँपालिकाको नीति अनुसार अमौरी, बक्लौवा र जगतपुर जस्ता स्थानमा रहेको होमस्टे सेवा प्रवर्द्धन गरिनेछ भने फुड फेस्टिभलमार्फत थारु, मगर लगायत आदिवासी रैथाने खानाका परिकारलाई लोकप्रिय बनाइनेछ। स्थानीय संस्कृतिमा आधारित ‘सांस्कृतिक ग्राम’, ‘सांस्कृतिक नाचघर’ र ‘खाजाघर’जस्ता संरचना पनि विकास गरिनेछन्।

पर्यटन र सांस्कृतिक गतिविधिलाई आयआर्जनसँग जोड्ने उद्देश्यले ‘सामुदायिक होमस्टे’ प्रवर्द्धन गरिने गाउँपालिकाको नीति रहेको छ। पहिचानमा आधारित होमस्टे प्रणालीमार्फत थारु समुदायको जीवनशैली, खानपान र सांस्कृतिक सम्पदा नजिकबाट अवलोकन गर्न पाउने र त्यसबाट स्थानीयलाई प्रत्यक्ष लाभ हुने अपेक्षा गरिएको छ।

गाउँपालिकाले आदिवासी जनजाति विशेषगरी थारु र मगर समुदायको भाषा, धर्म, संस्कृति, सम्पदा र परम्परालाई संरक्षण र प्रवर्द्धनमार्फत आर्थिक उपार्जनसँग जोड्ने नीति अघि सारेको छ। समाजको आधुनिकीकरणसँगै मौलिक संस्कृतिमा परेको प्रभावलाई न्यूनीकरण गर्दै ‘सुसंस्कृत सभ्य समाज’ निर्माणको दिशामा स्थानीय तहले अगाडि बढ्ने बताइएको छ।

जलवायु परिवर्तन, विपद् जोखिम न्यूनिकरण तथा वातावरणीय संरक्षणका सन्दर्भमा स्थानीयस्तरमै जनचेतना अभिवृद्धि गर्ने कार्यलाई समेत निरन्तरता दिइनेछ। यसका लागि वडास्तरीय चिराकी, वडघर, समाजसेवी र विद्यालयहरूसँग समन्वय गरी व्यवहारिक पूर्वतयारी, पूर्वसूचना प्रणाली र मौसम पूर्वानुमानमा आधारित कार्यक्रमहरु सञ्चालन गरिने जनाइएको छ।

गाउँपालिकाले सेवा प्रवाहमा पारदर्शिता र जवाफदेहिता कायम गर्न कर्मचारीहरूसँग कार्यसम्पादन करार गर्ने र त्यसको आधारमा प्रोत्साहन वा कारबाहीको व्यवस्था गर्ने नीति पनि अघि सारेको छ। स्थानीय पर्यटन तथा बजार व्यवस्थापनलाई सुगम बनाउँदै दुर्गौली बजारको चौक क्षेत्रलाई सौन्दर्यकरण गरिने योजना समेत पालिकाले अघि सारेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *