माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा, सांसद पद निलम्बित, प्रतिशोध साँधेको आरोप

अख्तियार दुरूपयोग अनुसन्धान आयोग नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। पतञ्जली जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध १८ करोड ५८ लाख ५० हजार विगो माग गरिएको छ। आरोपपत्र दायर भएसँगै नेपालको सांसद पद स्वतः निलम्बन भएको छ।

सो प्रकरणमा सम्बन्धित निकायका व्यक्ति तथा राष्ट्रसेवकले आफ्नो पदीय ओहोदाको दुरुपयोग गरी/गराई आफ्नो जिम्मामा रहेको सरकारी सार्वजनिक सम्पत्तिको सम्बन्धमा निर्णय बदनियत राखी गैरकानुनी निर्णय गरेको देखिएको आयोगले जनाएको छ ।

नेपालसहित तत्कालीन कानुन तथा न्याय मन्त्री संयोजक प्रेमबहादुर सिंह,तत्कालीन भूमिसुधार तथा व्यवस्था मन्त्री स्व. डम्बर श्रेष्ठ र उनका छोरा सन्तोष श्रेष्ठ,तत्कालीन मुख्य सचिव स्व.माधव प्रसाद घिमिरे र निजको श्रीमती कमला घिमिरे,भूमिसुधार तथा व्यवस्था मन्त्रालयका तत्कालीन सचिव छविराज पन्त,सहसचिवहरू जीतबहादुर थापा र लिलामणि जोशी,कलानिधी पौडेललगायतलाई प्रतिवादी बनाइ आयोगले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। २०६६ माघ १८ मा नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले पतञ्जलीलाई आयुर्वेदिक विश्वविद्यालयको नाममा सञ्चालन गर्न काभ्रेमा हदबन्दी छुटमा ८ सय १५ रोपनी जग्गा किन्न स्वीकृति दिएको थियो ।

‘पतञ्जली योग पीठ तथा आयूर्वेद कम्पनीलाई हदबन्दी छुट दिने सम्बन्धी मन्त्रिपरिषद्,विधेयक समितिको मिति २०६६।१०।१८ गतेको निर्णय कार्यान्वयनको लागि मालपोत कार्यालय, काभ्रेपलाञ्चोकमा मिति २०६६।१२।२४ गते मात्र पत्राचार भएको देखिएकोमा सो भन्दा अघि नै तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपालको निर्देशानुसार विभागीय मन्त्रालयबाट पेश भएको पतञ्जली योग पीठ तथा आयूर्वेद कम्पनी नेपालले गैरकानूनी तवरबाट प्राप्त गरेको हदभन्दा बढी जग्गा भूमि सम्बन्धी ऐन, २०२१ को दफा ११ बमोजिम जफत तथा सरकारी सार्वजनिक कायम हुने जग्गा बेचविखन तथा सट्टापट्टा सम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा ठाडो प्रस्तावको रुपमा पेश गरे गराएको देखिन्छ। तत्कालीन प्रधानमन्त्रीले उक्त प्रस्तावको सम्बन्धमा मिति २०६६।१२।०६ गतेको मन्त्रिपरिषद्को बैठकबाट पतञ्जली योग पीठ तथा आयूर्वेद कम्पनी नेपाललाई उक्त कम्पनीले मिति २०६६।१०।१८ गते भन्दा अघि खरिद गरेको चलालगणेशस्थान, साँगा, महेन्द्रज्योति गा.वि.स.का हदभन्दा बढी जग्गाहरु विक्री तथा सट्टापट्टाको लागि स्वीकृति दिने निर्णय गरे गराएको देखिन्छ। सोही निर्णय बमोजिम तत्कालीन मुख्यसचिव माधव प्रसाद घिमिरेले निर्णय कार्यान्वयनको लागि पत्राचार गरे गराएको देखिन्छ ,’आरोप पत्रमा उल्लेख छ।

कसैसँग एक पैसा लिएको पनि छैन, कुनै मन्त्रीलाई दबाब पनि दिएको छैन : माधव नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूमाथि लगाइएको भ्रष्टाचारको आरोप बदनियतपूर्ण रहेको आरोप लगाएका छन्। बिहीबार विभिन्न कार्यक्रमका लागि गृह जिल्ला रौतहट आएका नेता नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि पहिलोपटक सार्वजनिक रूपमा प्रतिक्रिया दिँदै उनले आफूले कुनै अनुचित काम नगरेका कारण कानुनी प्रक्रियाको सामना गर्न तयार रहेको बताए।

‘भ्रष्टाचारका निम्ति एक पैसा पनि लिएको छैन। अनुचित लाभ उठाएको पनि छैन। म चुनौतीका साथ भन्छु, राष्ट्रलाई नोक्सान हुने काम गरेको छैन। मैले आजसम्म कुनै पनि मन्त्रीलाई अनुचित गर्ने दबाब त के निर्देशन पनि दिएको छैन। स्वामी रामदेवजस्ता व्यक्ति भएको संस्थामा अनुचित काम हुन्छ भनेर कल्पना पनि गरेको छैन। विधि प्रक्रिया कानुनले हेर्ने कुरा हो। मुख्यसचिवले पनि सबै कुरा हेरे हेरेनन् त्यो कुरा हेर्नुपर्छ,’ सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने।

अध्यक्ष नेपालले आम नेपाली पतञ्जलीबाट लाभाञ्वित होऊन् भन्ने मनसायले आफूले जग्गा उपलब्ध गराएको बताउँदै आफूविरुद्ध सुरुदेखि नै राजनीतिक जीवन समाप्त पार्ने खेल सुरु गरिएको बताए। उनले सरकारकै निर्देशनमा बदनियत राखेर मुद्दा चलाइएको आरोप लगाए।

नेता नेपालले अहिलेसम्म के भयो आफूलाई जानकारी नरहेकाले राजधानी काठमाडौं गएर कानुन व्यवसायीसँग परामर्श गर्ने बताए। अध्यक्ष नेपाल सिमरा विमानस्थलबाट ४:३० को प्लाइटमर्फत काठमाडौं फर्कने उनका स्वकीय सचिव लक्ष्मण रेग्मीले जानकारी दिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *