रास्वपा सांसद सुरेन्द्र चौधरी दुईवटा संसदीय समितिमा निभाउनेछन् जिम्मेवारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुरेन्द्र चौधरी संसदीय समितिअन्तर्गत दुई महत्वपूर्ण समितिमा सदस्यका रूपमा रहेका छन्। ‘मिनी संसद’ भनेर चिनिने संसदीय समितिअन्तर्गत उनले अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति तथा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त)मा जिम्मेवारी पाएका हुन्।

कूटनीतिक तथा अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा दख्खल राख्ने चौधरीलाई रास्वपाले सोही क्षमतालाई मध्यनजर गर्दै उक्त समितिहरूमा सदस्य बनाएको हो। समितिमा रहँदा उनले तोकिएको कार्यक्षेत्रभित्र रहेर नीतिगत छलफल, अनुगमन तथा सिफारिसमा सक्रिय भूमिका निर्वाह गर्नुपर्नेछ।

संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को नियम ३१ अनुसार संयुक्त समितिको कार्यसञ्चालनका लागि प्रतिनिधि सभाको कार्यसञ्चालनसम्बन्धी नियमावली बमोजिमको प्रक्रिया सभामुखले आवश्यकता अनुसार लागू गर्न निर्देशन दिन सक्ने व्यवस्था रहेको छ। त्यस्तै, प्रतिनिधि सभाअन्तर्गत गठित समितिलाई प्राप्त अधिकारहरू संयुक्त समितिले पनि आवश्यकता अनुसार प्रयोग गर्न सक्ने प्रावधान छ भने समितिको अन्य कार्यविधि आफैंले निर्धारण गर्न सक्ने व्यवस्था गरिएको छ।

नेपालको संविधानको धारा ५४ तथा सोही नियमावलीअनुसार राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त)को मुख्य काम संविधानको भाग-४ मा उल्लिखित सिद्धान्त, नीति तथा दायित्वको प्रगतिशील कार्यान्वयन भए–नभएको अनुगमन र मूल्याङ्कन गर्नु हो। नियमावलीको नियम ३२ अनुसार समितिले नेपाल सरकारले संविधानको धारा ५३ बमोजिम पेश गरेको वार्षिक प्रतिवेदनमाथि छलफल गरी आवश्यक सिफारिससहितको प्रतिवेदन तयार पारेर संघीय संसदमा पेश गर्नुपर्ने व्यवस्था छ।

यस सन्दर्भमा, सांसद चौधरीको भूमिका विशेष रूपमा महत्वपूर्ण मानिएको छ। अन्तर्राष्ट्रिय सम्बन्ध, कूटनीति र नीतिगत विश्लेषणमा उनको सक्रियता समितिको कामलाई थप प्रभावकारी बनाउन सहयोगी हुने अपेक्षा गरिएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *