सरकारमा गरिबी होइन, गरिबलाई नै हटाउने मानसिकता देखियो : गगन थापा

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेस अहिले प्रतिपक्षमा रहेकाले सरकारका सकारात्मक कामको स्वागत गर्ने र कमजोरीप्रति खबरदारी गर्ने दायित्व रहेको बताएका छन् । नेपाल थारु संघको प्रथम महाधिवेशन उद्घाटन समारोहमा बोल्दै सभापति थापाले सरकारले ल्याएको बजेटमा अर्थतन्त्रका संरचनागत सुधारका लागि केही सकारात्मक नीतिगत व्यवस्था समेटिएको बताएका छन् ।

उनले भने, ‘जहाँ ठीक कुरा भएको छ, त्यसलाई हामीले ठीक भन्नु पर्छ । संरचनागत सुधारका लागि ल्याइएका सकारात्मक विषयहरूको स्वागत गर्नुपर्छ । तर सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ । गरिबी र गरिबलाई एउटै रूपमा बुझ्ने प्रवृत्ति गलत छ ।’
सरकारले गरिबी हटाउने होइन, गरिबलाई नै हटाउने मानसिकता देखाएको टिप्पणी गरे ।

राज्यको प्रवृत्ति गरिबको समस्या समाधान गर्नुभन्दा उनीहरूलाई विस्थापित गर्नेतर्फ उन्मुख देखिएको आरोप लगाए । उनले भने, ‘मेरो अगाडि जो गरिब पर्छ त्यसलाई म मास्दिन्छु, हटाई दिन्छु भनेपछि गरिबी हट्छ भन्ने गलत सोच भएको कुरा सिर्जित छ । हिजोको बजेटमा पनि हामीले यो कुरा देख्यौं ।’

उनले भने, ‘सरकारले संविधान मास्छ, कांग्रेस उभिन्छ । सरकार कानुनका विरुद्धमा बोल्छ, कांग्रेस उभिन्छ । सरकारले राज्यको स्रोत र साधन कुनै एउटा पक्षलाई मात्रै पुग्ने गरिकन त्यसको नीति, स्रोत–साधन, नियम, कानुन त्यतातिर लिएर जान्छ भने सबै समाजका खास गरिकन निम्न वर्गका मानिसहरूले प्राप्त गर्नुपर्छ भनेर त्यहाँ कांग्रेस उभिन्छ । त्यो अपोजिसनको ड्युटी हो ।’

सभापति गगन थापाले आगामी स्थानीय तह निर्वाचनमा पार्टीबाट उम्मेदवार हुन लिडरसीप एकेडेमीमा भर्ना भएर कोर्ष पूरा गर्नु अनिवार्य हुने बताएका छन् । शनिबार नेपाल थारु संघको प्रथम महाधिवेशन उद्घाटन सत्रमा सम्बोधन गर्दै सभापति थापाले लिडरसीप एकेडेमीको कोर्ष पूरा नगरेका नेतालाई उम्मेदवार नबनाइने बताएका हुन् ।

‘हामीले अहिले नेतृत्वको छुट्टै युनिट बनाएका छौं, लिडरसीप एकेडेमी भनेर । जसमा केही दिनमा हामी यसमा खुला आह्वान गर्छौं,’ सभापति थापाले भने, ‘७५३ पालिकामा निर्वाचन लड्न चाहना भएको कोही पनि हुनुहुन्छ म उम्मेदवार बन्न चाहन्छु भनेर, कोही दोहोरिन चाहनु भएको छ, नयाँ उम्मेदवार बन्न चाहनु भएको छ । अनिवार्य रूपमा लिडरसीप एकेडेमीमा भर्ना हुनैपर्छ । र, एउटा कोर्ष पूरा गर्नैपर्छ ।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *