पुराना बोझ बिर्सेर भारतसँग नयाँ अध्याय सुरु गर्न चाहन्छौं : शिशिर खनाल
परराष्ट्रमन्त्री शिशिर खनालले नेपालले छिमेकी राष्ट्र भारतसँग सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको बताएका छन्। शनिबार साँझ नयाँ दिल्लीमा भएको विदेशमन्त्री डा. एस जयशंकरसहितको टोलीसँगको भेटवार्तामा उनले भारतसँगको सम्बन्ध ऐतिहासिक मात्रै नभएको उल्लेख गरे।
उनले आर्थिक रूपान्तरण र परिणाममुखि कूटनीतिका लागि स्पष्ट र निर्णायक जनादेश आफ्नो पार्टीले प्राप्त गरेको ब्रिफिङका क्रममा सुनाए। ‘नेपालले भारतसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको छ । नयाँ सरकारको नेतृत्वमा हामी ठोस रूपमा उद्देश्यसहित सम्भव भएसम्म उच्च तहमा संलग्न हुन तयार छौं,’ मन्त्री खनालले भनेका छन् ।
उनले आफ्नो पार्टीले प्राप्त गरेको जनादेश उल्लेख भएको सुनाउँदै कुनै पनि पुरानो बोझ नभएको बताए। नजिकका छिमेकी र सबैभन्दा महत्त्वपूर्ण साझेदारसँग रुपान्तरणकारी सम्बन्ध निर्माण गर्नेमा नेपाल सरकार दृढ रहेको पनि बताए ।
सभापति रवि लामिछानेको हालैको भ्रमणका क्रममा ‘हिन्दुस्तान टाइम्स’ मा लेखिएको लेख उद्धृत गर्दै त्यसमा लेखेजस्तैगरी अघि बढ्नेमा पनि सरकार प्रतिबद्ध रहेको उनले सुनाए। आधुनिक, विकासमुखी साझेदारीमा नेपाल भारत सम्बन्धलाई रूपान्तरण गर्न चाहेको उनको भनाइ थियो।
उनले प्रधानमन्त्री बालेन शाहको नाम लिँदै भारत सरकार र भारतीय जनताप्रति अभिवादन गर्दै आफ्नो सम्बोधनको सुरुवात गरेका थिए । विपद् वा पश्चिम एसियाको संकटका बेला भारत सरकारबाट प्राप्त भएको सहयोगको पनि उनले प्रशंसा गरे ।
‘नेपाललाई हुने इन्धन र मल आपूर्तिमा तपाईंहरू सधैँ हाम्रो सहयोगी बन्नुभएको छ । म यस कुरालाई स्वीकार गर्दै नेपाल सरकार र नेपाली जनता दुवैका तर्फबाट हाम्रो कृतज्ञता व्यक्त गर्न चाहन्छु,’ खनालले भने।
त्यस्तै भारतीय विदेशमन्त्री डा. एस जयशंकरले नेपालसँग खुला सीमाना रहेका क्षेत्रमा सुरक्षा कायम राख्न मिलेर काम गर्ने बताए। स्टार्टअप्, एआई , सूचना प्रविधि, नवीकरणीय ऊर्जा जस्ता अन्य धेरै नयाँ क्षेत्रहरूमा सँगै अघि बढ्ने अवसर भएको पनि उनले सो क्रममा बताए।
भेटवार्ताको सुरुवातमा आफ्नो मन्तव्य राख्दै उनले भने, ‘हामीसँग यस सम्बन्धलाई स्टार्टअप्, एआई, सूचना प्रविधि, नवीकरणीय ऊर्जा जस्ता अन्य धेरै नयाँ क्षेत्रहरू अगाडि बढाउने अवसर पनि छ। हाम्रो लामो र विशिष्ट रूपमा खुला सिमानामा सुरक्षा कायम राख्न हामी मिलेर काम गर्छौं।’
उनले नेपाल-भारत सधैं एक अर्काको साथमा उभिएको स्मरण गरे। पश्चिम एसियामा जारी संकटको समयमा पनि नेपालमा इन्धन आपूर्ति निरन्तर गराइरहेको उनले सो क्रममा उल्लेख गरे।
Facebook Comment