‘म यस्तो होइन दाइ,पिरतिले जोगी बनायो’ भन्दै संसदमा महावीर पुनले सुनाए गीत
मन्त्री महावीर पुनले प्रतिनिधिस भामा गीत सुनाएका छन्। बिहीबार मन्त्रालयगत बजेट शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री पुनले पुरानो चर्चित गीत सम्झँदै सुनाएका हुन्।
उनले भने,’गीतको सम्झना आयो। नयाँ युवा साथीहरूले सायद सुन्नुभएको छैन होला। पुराना साथीहरूले भने सुन्नुभएको छ होला। मैले पनि सुनेको थिएँ, ‘म यस्तो होइन दाइ,पिरतिले जोगी बनायो।’
उनले उक्त गीत पहिला निकै लोकप्रिय रहेको स्मरण गर्दै आफू सांसद वा मन्त्री बन्ने व्यक्ति नभए पनि देशप्रतिको पिरतिले आफू मन्त्री बनेको स्पष्ट पारे। ‘म पनि सांसद हुने र मन्त्री हुने मान्छे होइन। तर, मलाई पनि पिरतिले मन्त्री र सांसद बनाएको हो,’उनले भने।
तर आफ्नो ‘पिरति’ कुनै व्यक्तिसँग नभई देशसँग रहेको उनको भनाइ छ। ‘मेरो पिरति देशसँग बसेको हो। तर सुरुमा एकैचोटि देशसँग बसेको होइन,गाउँसँग बसेको हो। अमेरिकाबाट आएपछि गाउँमा बसें। गाउँमा बस्दै जाँदा देशसँग पिरति बस्यो। त्यसैले जोगी भएँ। व्यवहारिक रूपमा पनि म जोगी नै हुँ,’उनले भने।
मन्त्री पुनले विज्ञान,प्रविधि तथा नवप्रवर्तन मन्त्रालय नयाँ नभई पुरानै मन्त्रालयको पुनर्संरचित स्वरूप भएको पनि बताए।’यो मन्त्रालय नयाँ बनेको होइन। यो पुरानै मन्त्रालय हो। यो मन्त्रालयले पुनर्जन्म पाएको हो। यो सातौँ पटक पुनर्जन्म भएको हो,’उनले भने।
Facebook Comment