आङ्देम्बेले प्रधानमन्त्री बालेनलाई ‘तपाईंलाई चिन्दिनँ भनेपछि…’

प्रमुख विपक्षी नेता तथा संवैधानिक परिषद्का सदस्य भीष्मराज आङ्देम्बेले निर्वाचन आयोगको रिक्त प्रमुख आयुक्त र आयुक्त सिफारिस प्रक्रियामा प्रधानमन्त्री तथा संवैधानिक परिषद्का अध्यक्ष बालेन्द्र शाह (बालेन)ले अपनाएको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाएका छन्। उनले संवैधानिक निकायमा नियुक्ति गर्दा परिषद् सदस्यहरूसँग संवादको शैली अपनाउनुपर्नेमा त्यसो नगरिएको भन्दै प्रधानमन्त्रीको शैलीप्रति सैद्धान्तिक असहमति जनाए।

परिषद्को शुक्रबार बसेको बैठकमा आङ्देम्बेले संवेदनशील संवैधानिक निकाय निर्वाचन आयोग लामो समय रिक्त रहन नहुने तर नियुक्तिको प्रक्रिया अघि बढाउनुअघि परिषद्का सदस्यहरूसँग पर्याप्त छलफल हुनुपर्ने उनको भनाइ थियो।

‘निर्वाचन आयोगजस्तो संवैधानिक निकाय रिक्त राख्नु हुँदैन, त्यसमा मेरो पनि सहमति छ,’ उनले प्रधानमन्त्री बालेनलाई भने, ‘तर, तपाईंको जुन खालको शैली छ, त्यसमा सैद्धान्तिक असहमति त छँदै छ। प्रमुख आयुक्तसँगै आयुक्त सिफारिस गर्ने विषयमा यसअघि नै छलफल गर्नुपर्थ्यो। त्यसो नगरेकोमा मेरो घोर आपत्ति छ।’

आङ्देम्बेको यस्तो असन्तुष्टिपछि प्रधानमन्त्री बालेनले आफूले व्यक्तिगत रूपमा संवादको प्रयास गरेको दाबी गरे। ‘मैले छुट्टाछुट्टै संवाद गर्न खोजेको थिएँ। श्रीमान् (प्रधानन्यायाधीश)सँग पनि कुरा गर्न खोजेको थिएँ। तर, बाहिर पत्रकारहरूले उल्टो अर्थ लगाउने रहेछन्,’ उनको भनाई उद्धृत गर्दै परिषदका एक सदस्यले भने।

प्रधानमन्त्रीको जवाफप्रति पुनः प्रतिक्रिया दिँदै आङ्देम्बेले त्यसो भए विपक्षी नेता, सभामुख र राष्ट्रियसभा अध्यक्षसँग प्रत्यक्ष संवाद गर्नु उपयुक्त हुने धारणा राखे। ‘प्रधानन्यायाधीशलाई किन बोलाउनुहुन्छ तपाईं? प्रमुख विपक्षी नेता, प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभा अध्यक्षलाई बोलाएर छलफल गर्न सक्नुहुन्थ्यो,’ उनले भने।

आङ्देम्बेले प्रधानमन्त्री र संवैधानिक परिषद्का अध्यक्षका रूपमा बालेनलसँग चिनजानसम्म नभएको पनि बताए। ‘तपाईंले संवैधानिक परिषद्का सदस्यहरूबीच चिया खाएर शिष्टाचार कायम राख्दा पनि हुन्थ्यो। त्यसो भएको छैन। प्रधानमन्त्री र संवैधानिक परिषद्का अध्यक्षको हिसाबले हाम्रो चिनजान नै भएको छैन। व्यक्तिगत रूपमा त चिन्छु,’ उनले भने, ‘अस्ति पनि यही कुरा भनेको थिएँ, अहिले पनि अवस्था उस्तै छ। तेस्रोपटक यस्तो नहोस्।’

उनले राष्ट्रपति र प्रमुख विपक्षी नेतासँग प्रधानमन्त्रीको संवादहीनताप्रति पनि असन्तुष्टि जनाए। ‘हामीबीच संवादहीनता छ। राष्ट्रपति र प्रधानमन्त्रीबीच पनि संवादहीनता छ। अब संवैधानिक परिषद्मा पनि त्यही अवस्था देखिन थालेको हो कि, या नियत नै त्यस्तो हो?,’ आङ्देम्बेले सोधे।




Leave a Reply

Your email address will not be published. Required fields are marked *