पाटनमा भारतको सहयोगमा पुनःस्थापित गुस्तल र प्रथमश्री महाविहार उद्घाटन
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले पाटनको गुइत टोलस्थित पुनर्स्थापित सांस्कृतिक सम्पदा स्थल गुस्तल महाविहार तथा प्रथमश्री महाविहारको मंगलबार संयुक्त रूपमा उद्घाटन गरेका छन्। भारत सरकारको आर्थिक सहयोगमा पुनःस्थापित महाविहारको उद्घाटनसँगै परम्परागत धार्मिक तथा सांस्कृतिक विधिअनुसार आगम समारोह पनि सम्पन्न गरिएको हो।
भारत सरकारको करिब १२ करोड रुपैयाँ अनुदान सहयोगमा महाविहारको पुनर्निर्माण गरिएको हो। परियोजनाको कार्यान्वयन नेपाल सरकारको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास)ले गरेको हो भने डिजाइन तथा परियोजना व्यवस्थापन परामर्श सेवा इन्डियन नेशनल ट्रस्ट फर आर्ट्स एण्ड कल्चरल हेरिटेजले उपलब्ध गराएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै मेयर महर्जनले ललितपुरसहित नेपालका विभिन्न जिल्लाका सांस्कृतिक सम्पदाको पुनर्निर्माणमा भारत सरकारले पुर्याएको सहयोगको प्रशंसा गरे। उनले परियोजना सफल बनाउन स्थानीय समुदायले खेलेको भूमिकाको पनि सराहना गरे।
राजदूत श्रीवास्तवले नेपाल र भारतबीचको गहिरो सांस्कृतिक सम्बन्धलाई स्मरण गर्दै नेपालका ऐतिहासिक सम्पदाको संरक्षण र पुनर्स्थापनामा भारतले निरन्तर सहयोग गर्दै आएको बताए। पुनर्निर्माण गरिएका संरचनाले दुई देशबीचको साझा सम्पदा र मित्रताको दिगो प्रतीकका रूपमा काम गर्ने उनको भनाइ थियो।
भारतीय दूतावासका अनुसार भूकम्पपछिको पुनर्निर्माण कार्यक्रमअन्तर्गत भारत सरकारले नेपालका आठ जिल्लामा रहेका ३० वटा सांस्कृतिक सम्पदा स्थलको संरक्षणमा सहयोग गरेको छ। गोरखा र नुवाकोटमा ५० हजार निजी आवास, आठ जिल्लामा ८५ शैक्षिक संस्था तथा ११ जिल्लामा १३३ स्वास्थ्य संरचनाको पुनर्निर्माणमा पनि भारतले सहयोग उपलब्ध गराएको जनाएको छ।
दूतावासले गुस्तल महाविहार तथा प्रथमश्री महाविहारको पुनर्स्थापना परियोजनाले भूकम्पपछिको पुनर्निर्माणमा नेपाल सरकारको प्रयासलाई थप बल पुर्याउनुका साथै नेपाल-भारतबीचको दीर्घकालीन विकास साझेदारीलाई पनि प्रतिबिम्बित गरेको जनाएको छ।
Facebook Comment